Logo

अपर नौगाडले असोजदेखि विद्युत उत्पादन गर्ने, निर्माणकार्य अन्तिम चरणमा

अपर नौगाडले असोजदेखि विद्युत उत्पादन गर्ने, निर्माणकार्य अन्तिम चरणमा



काठमाडौं । नौगाड गाउँपलिकामा निर्माणाधीन ८ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले आगामी असोज पहिलो साताबाट विद्युत उत्पादन गर्नेभएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेकाले असोज पहिलो साताभित्रै नियमित विद्युत उत्पादन थाल्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे ८ मेघावाटको नौगाड जलविद्युत आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रो पावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि चैत्रभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएकोमा साउन महिनाको बाढी र प्राविधिक कारणले निर्माणकार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिएका छन ।

१ अर्ब ८० करोड रुपैयाँ लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । ८ मेगावाट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युतको अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ । निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा प्रदेशमा अपि हाइड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो ।

अहिले विद्युतको पावरहाउसमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताए । पावरहाउसमा ४÷४ मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ ।

विसं २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति गरेका कारण आयोजनाको लागत र समय थप गरिएको उनको भनाई रहेको छ । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा १० करोड रुपैयाँ बराबरको क्षति भएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL