Logo

अर्घाखाँची चेम्बरले मनायो पहिलो स्थापना दिवश, नयाँ ठुला उद्योगलाई ३ बर्षसम्म कर छुट

अर्घाखाँची चेम्बरले मनायो पहिलो स्थापना दिवश, नयाँ ठुला उद्योगलाई ३ बर्षसम्म कर छुट



काठमाडौं । अर्घाखाँची चेम्वर अफ कमर्शले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । गत बर्ष भदौ १८ गते स्थापना भएको अर्घाखाँची चेम्बरले बुधबार आफ्नो पहिलो स्थापना दिवश, पहिलो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशन समेत सम्पन्न गरेको हो ।

laxmi

पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी तथा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले उक्त स्थापना दिवशको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा उद्योग स्थापना तथा विकासका अथाह स्रोत तथा सम्भावनाहरु भएपनि सोही अनुसार उपयोग गर्न नसकिएको औँल्याएका छन । उनले राष्ट्रकै समृद्धिका लागि पूर्वाधार विकास, भु उपयोग नीति, निजी क्षेत्रसँगको सहकार्य लगायतका कुराहरुलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

‘देशको समृद्धिसँगै विकासमा फड्को मार्न विकासको एक छुट्टै मास्टरप्लान बनाउनुपर्छ,’ उनले भने, ‘आर्थिक विकासको लागि कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र दुबैले सहकार्य गरेर तिव्र रुपमा अगाडी बढाउनुपर्याे ।’

यस्तै उनले हालको समयानुकुल माग तथा प्रविधिलाई ध्यानमा राखेर औद्योगिक उत्पादनहरु बढाउनुपर्नेमा समेत जोड दिएका छन । अर्घाखाँची चेम्बरले आफ्नो पहिलो स्थापना दिवशको अवसरमा अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पनि चेम्वर गठन गर्ने जानकारी दिएको छ ।

पहिलो साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक श्रेष्ठले अर्घाखाँची जिल्लामा ठुला उद्योग आउन चाहेमा उक्त उद्योगहरुलाई ३ बर्षसम्म कर नलिने बताएका छन । उनले नेपाल चेम्बर अफ कमर्स र अर्घाखाँची चेम्बरको सहकार्यमा नव आगन्तुक ठुला उद्योगहरुलाई निशुल्क करको सुविधा दिने बताएका हुन ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले अर्घाखाँचीको विकासलाई सहयोग पुर्याउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन । उनले अर्घाखाँची जिल्लाबाट लुम्बिनी पनि नजिकै पर्ने भएकाले र प्रसिद्ध पर्यटकिय स्थल देउराली पनि भएकाले पर्यटनको सम्भावना रहेको बताएका हुन । कार्यक्रममा बोल्दै उनले उक्त क्षेत्रको विकासका लागि सरकारले नै व्यवसायिक कृषिमा सहुलियत प्रदान गर्नुपर्ने धारणा राखेका छन ।

विजुली पानी लगायतको सुविधा पर्याप्त भएकाले यहाँ व्यवसायिक कृषिको सम्भावना रहेको उनको भनाई थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंक पोख्रेल अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो ।

यस्तै हरी प्रसाद भुषालले संचालन गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुषाल, नगर उप प्रमुख ठाकुर कुमार बीक लगायत राजनितिक दलका नेता तथा जिल्लामा क्रियाशिल विभिन्न संघसस्थाका पदाधिकारीको बाक्लो उपस्थिति थियो । अर्घाखाँची चेम्बरले स्थापनाको १ बर्षदेखि नै जिल्लाका व्यवसायीलाई कर शिक्षाको बारेमा ज्ञान दिँदै आएको छ । साथै चेम्बरले सरसफाई विभिन्न किसिमका जनचेतना लगायतका कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL