Logo

नवलपरासीका ७० उद्योग खारेज, खारेजीमा पर्ने सबै भन्दा बढी पर्यटनका

नवलपरासीका ७० उद्योग खारेज, खारेजीमा पर्ने सबै भन्दा बढी पर्यटनका



काठमाडौं । पश्चिम नवलपरासीको ७० ओटा उद्योग घरेलु तथा साना उद्योग कार्यालयले खारेज गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा खारेजीमा पर्ने उद्योग मध्य सबै भन्दा बढी पर्यटन उद्योग छन । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा १ हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको संख्या बढ्दै गएको हो ।

विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ ।

भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र ६ हजार ६ सय ११ साना उद्योगसहित कूल ६ हजार ७ सय १८ साना उद्योग सञ्चालनमा छन । गत आवमा दर्ता भएका उद्योगमा ४ हजार ५ सय ८२ ले रोजगारी पाएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL