Logo

नेपाली कपडाको व्यापार ५० प्रतिशतले घट्यो, सरकारले माग सम्बोधन नगर्दा पलायन हुँदै उद्योगी

नेपाली कपडाको व्यापार ५० प्रतिशतले घट्यो, सरकारले माग सम्बोधन नगर्दा पलायन हुँदै उद्योगी



काठमाडौं । कपडा उद्योगीले एक बर्षदेखि राख्दै आएका मागहरु सरकारले पुरा नगर्दा कपडा व्यापारमा ५० प्रतिशतले गिरावट आएको छ । गत आर्थिक बर्षको बजेटमार्फत सरकारले कपडा उद्योगलाई दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा कटौती गरेपछि कपडा उद्योगको ब्यापारमा नकारात्मक असर परेको हो ।

laxmi

गत आर्थिक बर्षको बजेटमा सरकारले उक्त सुविधा कटौती गरेसँगै नेपाली कपडा उद्योगको उधोगति लागेको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए । उनका अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष कपडाको व्यापार ५० प्रतिशत भन्दा बढिले घटेको छ । ‘सरकारले हाम्रा जायज मागहरु पुरा गर्न सकेन कतिपय मागहरु पुरा गर्न सहमति भएपनि कार्यान्वयनमा भने ल्याउन सकिरहेको छैन,’ अध्यक्ष प्रधानले भने, ‘यसरी मागहरु पुरा नभएपछि सबै उद्योग घाटामा चलाउन नसकिने भएपछि विस्तारै हामीहरु उद्योगबाट हात झिक्न बाध्य भएका छौं ।’

सरकारले १३ प्रतिशत भ्याट फिर्ताको सुविधामा कटौती गरेपछि आफ्ना उत्पादनको मूल्य बढेको र सोही अनुसार अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिश्पर्धा गर्न नसकिएपछि उद्योग धराषयी हुँदै गएको उनको भनाई थियो । सरकारले भ्याट फिर्ताको सुविधा कटौती गरेपछि उद्योगीले त्यसको विरुद्ध ४ दिन आफ्ना उद्योगहरु बन्द गरेका थिए ।

अर्थ मन्त्रालयले उद्योगीलाई बोलाउँदै विद्युत, बैंकको ब्याज, लगायतमा केहि छुटका सुविधा दिने बताएको थियो । तर उद्योगीले भने उक्त सुविधाले पनि नपुग्ने बताउँदै आएका छन । हाल अर्थमन्त्रालयले भने भ्याट फिर्ताको सुविधापश्चात कपडा उद्योगीका लागि बैंकको ब्याजदरमा ५ प्रतिशत, विद्युतमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो । यति छुटले पनि अर्झ ८ देखि ९ प्रतिशतसम्म नोक्सान बेहोर्नुपर्ने देखिएको उद्योगीले बताउँदै आएका छन ।

कपडा उद्योगीका अनुसार हाल नेपालमा १ अर्ब मिटर कपडाको खपत हुन्छ जसमध्ये ९० प्रतिशत कपडा बाहिरबाट नै आयात हुने गरेको छ । यस्तै बाहिरबाट हुने ९० प्रतिशतमा पनि ८० प्रतिशत कपडा अवैधानिक रुपले नेपाल भित्रिने गरेको संघका अध्यक्ष प्रधानले जानकारी दिएका छन । यदि विदेशबाट भित्रिने ८० प्रतिशत कपडालाई कडाई गरेमात्रै पनि नेपाली उद्योगीलाई केही हदसम्म सहुलियत पुग्ने उनको भनाई छ ।

यस्तै नेपाली उद्योगहरुले भने १० प्रतिशत कपडाको खपत ओगटेको प्रधानको भनाई छ । तर यो बर्ष भने नेपाली कपडाको मूल्य केही हदसम्म बढेपछि व्यापार अघिल्लो बर्षको तुलनमा खस्केको उनको भनाई छ । ‘समग्र उद्योग त भन्न सकिँदैन सबै डाटा आईसकेको छैन,’ उनले भने, ‘तर मेरो ब्यक्तीगत कुरा गर्दा चाहीँ व्यापार ५० प्रतिशतभन्दा बढी नै घटेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL