Logo

१६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आउँदा भित्रियो ११ अर्ब, प्रतिवद्धता अनुसार आएन लगानी

१६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आउँदा भित्रियो ११ अर्ब, प्रतिवद्धता अनुसार आएन लगानी



काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न कम्पनी दर्ता तथा लगानीको प्रतिवद्धता गरेपनि सोही अनुरुप वैदेशिक लगानी भने भित्रन सकेको छैन । पछिल्लो समय वैदेशिक लगानी प्रतिवद्धता उच्च भएपनि लगानी भने कमै मात्रामा भित्रिएको तथ्याङ्कले देखाएको छ ।

laxmi

उद्योग विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७५÷७६ को ११ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर सोही अबधिमा जम्मा ११ अर्ब रुपैयाँको मात्रै वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा छ ।

गत आबको ११ महिनामा उद्योग विभागमा विभिन्न २ सय ९१ उद्योगमा १६ अर्ब ७९ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो । तर राष्ट्र बैंकमा उक्त उद्योगमार्फत ११ अर्ब ८१ करोड रुपैयाँ मात्रै भित्रिएको छ ।

त्यसो त यसअघिका बर्षहरुमा पनि प्रतिवद्धता अनुरुपको लगानी नभित्रिएपनि नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७४÷७५ को ११ महिनामा पनि प्रतिवद्धता अनुसार लगानी ७० प्रतिशतले कम भित्रिएका पाईन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ५२ अर्ब ८७ करोड रुपैयाँ बराबरका उद्योगमा लगानीको प्रतिबद्धता आएपनि १५ अर्ब ७७ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।

यस्तै अघिल्लो आर्थिक बर्षभरिमा ५५ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएपनि लगानी भने जम्मा १७ अर्ब ५१ करोड रुपैयाँ मात्रै भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL