Logo

भुक्तानी नपाएको भन्दै उखु किसानद्वारा आन्दोलको घोषणा, एक हप्ता भित्रै भुक्तानी गर्न माग

भुक्तानी नपाएको भन्दै उखु किसानद्वारा आन्दोलको घोषणा, एक हप्ता भित्रै भुक्तानी गर्न माग



काठमाडौं । विगतका बर्षहरुमा झैं यस बर्षपनि उखु किसानहरुले आन्दोलन गर्ने भएका छन ।

भुक्तानीको विषयलाई लिएर गतबर्षहरुमा आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले यस वर्ष पनि आन्दोलनको घोषणा गरेका हुन । चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो ।

भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसानहरुले अब यसपटक पनि एक साताभित्रै मिलबाट भुक्तानी सुरु नगरे राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलन गर्ने समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिएका छन । यस आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सञ्चालनमा आएका ३ ठूला चिनी मिलले करीब ७० करोड रुपैयाँ बराबरको उखु किसानसँग उधारोमा खरीद गरेको देखिन्छ ।

मिललाई किसानले उधारोमा उखु दिन बाध्य भएको तर उखु ‘क्रसिङ सिजन’ बितेको दुई महीना भइसक्दा पनि मिलले अझै किसानलाई भुक्तानी नदिएको समितिको निष्कर्ष छ । त्यस्तै चालू आर्थिक वर्षमा मिलहरूले उखु क्रसिङ डेढ महीना ढिला सुरू गरी वैशाख मसान्तमा क्रसिङ बन्द गरेकाले करीब ५ करोड रुपैयाँ बराबरको करीब एक लाख क्विन्टल उखु खेतमै नोक्सानी बेहोर्न बाध्य भएको समितिले बताएको छ ।

उखु मिलहरूलाई उधारोमा दिएको उखुको भुक्तानी रकम किसानले माग गरेका छन् । मिलले चिनीको बिक्रीवितरण गरे पनि किसानलाई भुक्तानी नदिएको भन्दै किसानहरुले आन्दोलन घोषणा गर्न बाध्य भएको यस क्षेत्रका किसानहरू बताउँछन् । मिलहरुले उखु किसानलाई ढुवानी खर्च भनेर ५ देखि २० प्रतिशतसम्म ठगिरहेको किसानको आरोप छ ।

साथै नेपाल सरकारबाट प्राप्त अनुदान रकममा पनि मिल सञ्चालकहरुबाट व्यापक अनियमितता भएको समितिको आरोप छ । किसानको समस्या सबैको साझा समस्या भन्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले रकम यथाशीघ्र भक्तानीका लागि पहल भइरहेको बताए ।

जिल्लामा इन्दिरा, बागमती र लुम्बिनी चिनी मिल गरी तीन ठूला चिनी मिल छन् । चालू आवमा करीब १२ लाख क्विन्टल उखु उत्पादन भएको तथ्याङ्क छ भने पश्चिम नवलपरासीमा करीब १३ हजार उखु कृषक रहेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL