Logo

एलसी खुलिसकेका ईनर्जी ड्रिंक्स आयात गर्न माग, नेपाली व्यवसायीको करोडौं रकम डुब्ने खतरा

एलसी खुलिसकेका ईनर्जी ड्रिंक्स आयात गर्न माग, नेपाली व्यवसायीको करोडौं रकम डुब्ने खतरा



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले विदेशी ईनर्जी ड्रिंक्स आयात गर्नका लागि माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसँगको भेटमा सरकारले प्रतिबन्ध लगाउनुअघि ढुवानी भइसकेको, टिटी पठाइसकेको र लेटर अफ क्रेडिट (एलसी) खोलिसकेको इनर्जी ड्रिंक्स तथा अन्य वस्तु आयात गर्न दिन माग गरेको हो ।

संघका अध्यक्ष हिमबहादुर रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सचिव अधिकारीलाई उनकै कार्यकक्षमा भेटी यस्तो आग्रह गरेको हो । सरकारले प्रतिबन्ध लगाउनुअघि करोडौं मूल्यको इनर्जी ड्रिंक्स र अन्य वस्तु आयातको प्रक्रिया सुरु भइसकेको हुँदा प्रतिबन्धको निर्णय असार २ अघिका एलसी, टिटी र सिपमेन्टमा लागू गर्न नहुने संघको माग छ ।

आयात प्रतिबन्धको सूचना राजपत्रमा प्रकाशित हुनुअघिका एलसी खुलेका, सिपमेन्ट भएका वा टिटी पठाइसकेका वस्तु आयातमा समेत प्रतिबन्ध लगाए व्यवसायीको करोडौं रुपैयाँ डुब्ने भन्दै उक्त सामान नरोक्न मन्त्रालयलाई जानकारी गराएको हो ।

सचिव अधिकारीले यस्तो समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन । उनले उक्त समस्याका विषयमा मन्त्रालयमा औपचारिक (लिखित) जानकारी गराउन आग्रह गर्दै समस्या समाधानको पहल गरिने आश्वासन दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL