Logo

निर्यात अनुदान पाएको जुत्ता चप्पल साढे ६ अर्बको आयात, निर्यातमा २७ प्रतिशतले गिरावट

निर्यात अनुदान पाएको जुत्ता चप्पल साढे ६ अर्बको आयात, निर्यातमा २७ प्रतिशतले गिरावट



काठमाडौं । पछिल्लो समय निर्यात अनुदान पाउने वस्तुमा समेटिएको जुत्ता चप्पल १० महिनामै ६ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ । सरकारले जुत्ता तथा चप्पलाई निर्यातयोग्य बस्तुको सूचीमा राखेर अनुदान दिएपनि नेपालले गर्ने आयात उच्च रहेको छ ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले अघिल्लो महिना मात्रै जुत्ताचप्पललाई निर्यात अनुदान पाउने बस्तुको सुचीमा समावेश गरेको छ । सरकारले जुत्ता तथा चप्पलाई निर्यातयोग्य बस्तुको सूचीमा समावेश गरेपनि देशको लागि आवश्यक चुत्ता चप्पल आयात उच्च हुँदा यसको कार्यान्वयनमा प्रभावकारिता नदेखिने भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १० महिनामा चीनबाट मात्रै ५ अर्ब ४९ करोड रुपैयाँ बराबरका जुत्ताचप्पल आयात भएका छन । चीनबाट हुने जुत्ता चप्पलको आयातमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो बर्षको बैशाखसम्म १ सय ८३ प्रतिशतले बृद्धि भएको छ । जुन अघिल्लो बर्ष ६ दशमलव ५ प्रतिशत मात्रै वृद्धि थियो । नेपाली जुत्ता उद्योगीहरुले आफ्नो कम्पनीको ब्राण्डमा चीनमा लेबलिङ गरेर जुत्ता आयात गर्ने क्रम बढेसँगै चीनबाट हुने आयातमा वृद्धि भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले पनि कतिपय नेपाली जुत्ता उद्योगीहरुले आफ्नो ब्राण्डको लेवलिङ गर्दै चीनमा जुत्ता बनाएर ल्याउँछन्,’ एक उद्योगीले भने, ‘अनि त्यहि जुत्तालाई नेपाली भन्दै बजारिकरण गर्छन ।’

यस्तै भारतबाट आयात हुने फुटवेयरमा पनि चालु आर्थिक बर्षको १० महिनामा वृद्धि भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको बैशाखसम्म भारतबाट ९४ करोड रुपैयाँ बराबरका जुत्ताचप्पल आयात भएका छन । भारतबाट आयात हुने जुत्ता चप्पलमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

तर नेपालबाट भारतमा हुने जुत्ताचप्पलको निर्यातमा भने अघिल्लो आर्थिक बर्षको १० महिनाको तुलनामा चालु आर्थिक बर्षमा गिरावट आएको छ । विशेषगरी नेपालबाट किरण शू म्यायुफ्याच्र्सबाट उत्पादिन गोल्ड स्टार जुत्ता निर्यात हुँदै आएको छ ।

अघिल्लो आबको १० महिनामा नेपालबाट १ अर्ब ११ करोड रुपैयाँ बराबरको जुत्ताचप्पल भारत निर्यात भएकोमा चालु आबमा २७ दशमलव ६ प्रतिशतको गिरावट आउँदै ८० करोड ५८ लाखमा खुम्चिएको छ । तर भारतबाहेक अन्य देशमा भने नेपाली जुत्ताचप्पल निर्यात नभएको तथ्याङ्कले देखाएको छ ।

यस्तै चालु आर्थिक बर्षको बैशाखसम्म चीन र भारतबाहेकका देशहरुबाट २२ करोड ६४ लाख रुपैयाँ बराबरका जुत्ताचप्पल आयात भएका छन । अन्य देशबाट आउने जुत्ता चप्पलको आयातमा अघिल्लो बर्षको बैशाखसम्म ५ दशमलव १ प्रतिशतको गिरावट आउँदा चालु आर्थिक बर्षको बैशाखसम्म आयातमा ३२ दशमलव २ प्रतिशतले उकालो लागेको छ ।

यसरी दिनप्रतिदिन बढिरहेको फुटवेयरको आयात र घटिरहेको निर्यातको असन्तुलित प्रक्रिया आगामी बर्षदेखि केही सुधार हुने सम्बद्ध व्यवसायीहरु बताउँछन । सरकारले चालु आर्थिक बर्षदेखि फुटवेयरलाई निर्यात अनुदानमा समावेश गरेपछि जुत्ताचप्पलको निर्यात बढ्ने र आयातबाट भएको व्यापारघाटालाई केहि मात्रामा सहजीकरणको भुमिका खेल्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL