Logo

भैरहवा सहित ७ स्थानमा खुल्दैछ सेज, यी हुन प्रादेशिक स्तरमा सेज संचालन हुने स्थान

भैरहवा सहित ७ स्थानमा खुल्दैछ सेज, यी हुन प्रादेशिक स्तरमा सेज संचालन हुने स्थान



काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) स्थापनालाई द्रुत गतिमा अघि बढाएको छ । देश संघीय संरचनामा गएसँगै सोही अनुरुप प्रादेशिक रुपमा सेज स्थापनाका लागि अघि बढाइएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

प्रादेशिक संरचना अनुरुप हाल ४ नम्बर प्रदेशको भैरहवामा सेज संचालनमा आइसकेको छ । थप ६ वटा प्रदेशका लागि पनि सम्भाव्यता अध्ययन गरी निर्माणकार्य अघि बढाइएको उनले जानकारी दिए ।

भट्टका अनुसार सबैभन्दा ठूलो २ नम्बर प्रदेशको सिमरामा ५ सय ६४ हेक्टरमा सेज निर्माण गरी गार्मेन्ट प्रशोधन केन्द्र संचालनका लागि आवेदन माग गरिएको छ । यसैगरी प्रदेश नम्बर ३ को लागि पाँचखालमा ५० हेक्टर जमिनमा निर्माणकार्य नै अघि बढाइएको छ ।

हाल प्रदेश नम्बर १ को लागि विराटनगरमा निर्माणकार्य अघि बढाइएको छ । कुल २ सय हेक्टर क्षेत्रफलमा सेज निर्माणका लागि विस्तृत इन्जिनीयरिङ अध्ययन कार्य सम्पन्न भैसकेको छ ।

सरकारले प्रदेश नम्बर ४ का लागि गोरखामा सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिसकेको छ । प्रदेश ४ का लागि गोरखाको गोरखा नगरपालिकामा कुल ६० हेक्टर जमिनमा सेज स्थापना गर्न लागिएको हो ।

यसैगरी कर्णाली प्रदेशका लागि जुम्लामा सेज निर्माणकार्य अघि बढेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कुल ४७ हेक्टर जमिनमा सेज निर्माणका लागि विस्तृत इन्जिनीयरिङ अध्ययन कार्य सम्पन्न भएको छ । प्रधिकरणले सुदूरपश्चिम प्रदेश अर्थात ७ नम्बर प्रदेशका लागि धनगढीको बुर्जु गाउपालिकामा कुल ६४ हेक्टर जमिनमा सम्भाव्यता अध्ययन गरिसकेको छ ।

हाल निर्माणको चरणमा प्रदेश गरेका र सम्भाव्यता अध्ययन भैसकेका स्थापनमा द्वूत गतिमा सेज निर्माण गरी संचालनमा ल्याइने समेत भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL