Logo

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन : साढे २ किलोमिटर बिछ्याउन बाँकी

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन : साढे २ किलोमिटर बिछ्याउन बाँकी



काठमाडौं । नेपाल–भारत सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम ६७.७ किलोमिटर सम्पन्न भएको छ ।

नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७.७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब साढे २ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको परियोजना कार्यालय सिमराले जानकारी दिएको छ ।

बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम तिब्र रुपमा भईरहेको परियोजना कार्यालय सिमराले जानकारी दिएको छ ।

पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब ९ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५ सय ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिएका छन ।

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई ५ वर्षसम्मका लागि १ लाख ४७ हजार २ सय रुख रोप्न १ करोड ३९ लाख ६७ हजार ५२ रुपैयाँ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

अब साढे २ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि बाँकी रहेका प्रक्रिया पूरा गरी पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने विश्वास व्यक्त गरिएको छ । विसं २०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा उक्त पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइ भएको सो पाइप लाइन २ अर्ब ७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २ अर्ब तथा नेपाल सरकारको ७५ करोड रुपैयाँ लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

जमीनमुनि साढे २ मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास गरिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL