Logo

माथिल्लो तामाकोसीमा पेनस्टक पाइप राख्न सुरु, भारतीयले नगरेपछि अष्ट्रियन कम्पनीलाई जिम्मा

माथिल्लो तामाकोसीमा पेनस्टक पाइप राख्न सुरु, भारतीयले नगरेपछि अष्ट्रियन कम्पनीलाई जिम्मा



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाईप राख्न सुरु गरिएको छ । दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङ मा २२ वैशाख भित्रमा र माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुने भएको हो ।

laxmi

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३ सय ७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नु पर्ने छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइप जडान भइसकेका छन् । अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन् । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

बैठकमा कार्यकारी अध्यक्ष घिसिङले भने, ‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजनाको निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तिब्रता दिनुहोस ।’

बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL