Logo

संचालनमा आयो तनहुँको मार्कीचोक सबस्टेसन, विद्युत चुहावटमा कमि आउने

संचालनमा आयो तनहुँको मार्कीचोक सबस्टेसन, विद्युत चुहावटमा कमि आउने



काठमाडौं तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ ।

laxmi

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्नगरी विहीबारबाट संचालनमा ल्याएको जानकारी दिएको छ । सबस्टेसन संचालनमा आएसँगै मध्यमर्स्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमर्स्याङदी–दमौली–मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै संचालनमा आइसकेको छ ।

मार्कीचोक सबस्टेसन संचालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने लगायतका समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन ।

दमौली–डुम्रे –आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो । उनले भने, ‘लामो दुरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखातर्फ विद्युत लान सजिलो भएको छ । जसबाट ३३ केभी लाइनको दुरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत आपूर्ति भरपर्दो हुने छ ।’

मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनलाई मार्फत प्रवाह हुने विद्युतलाई निर्माणाधीन
मर्स्याङदी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२÷२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत ल्याउन सक्ने भएको छ ।

मध्यमर्स्याङदी –डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्व विक्रम शाहका अनुसार, अब मर्स्याङदी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो
मर्स्याङदी निकाल्न सक्ने भएका छन ।

आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमर्स्याङदी तथा दमौली सबस्टसनमा क्रमशः १ र २ वटा बे र तल्लो मर्स्याङदीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग सम्झौता गरेको छ ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपैयाँ थियो । अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ ।

यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL