Logo

उद्योगमन्त्री यादवले भने, ‘सरकारले निजीकरणका नाममा उद्योग बेच्दा नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भए’

उद्योगमन्त्री यादवले भने, ‘सरकारले निजीकरणका नाममा उद्योग बेच्दा नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भए’



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले सरकारी स्वामित्वमा रहेका विभिन्न उद्योगहरु सरकारले बेचेर खाएको आरोप लगाएका छन । उनले यसअघिका सरकारको माथिल्लो ओहोदामा बसेका केही ब्यक्तीहरुले सरकारी स्वामित्वमा रहेका कतिपय उद्योगहरुलाई निजीकरण गर्दै बेचेर खाएको आरोप लगाएका हुन ।

आईतबार नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १५ औं बार्षिक साधारण सभामा बोल्दै उनले उदारीकरण र निजीकरणको नाममा भएभरका उद्योगहरु बेचेर नै सिध्याउने काम भएको बताएका हुन । ‘सरकारले विभिन्न तवरले सरकारी उद्योगहरु बेचेको भएपनि निजी क्षेत्रले हालसम्म पनि धेरै किसिमका उद्योगहरु बचाईराखेका छन्,’ उनले भने, ‘यसका लागि निजी क्षेत्र धन्यवादका पात्र हुन् ।’

प्रतिश्पर्धामा जानुपर्ने र उद्योगहरु चलाएर रोजगार सिर्जना गर्नुपर्ने ठाउँमा सरकारले उल्टो उद्योगहरु बेच्दै मजदुरहरुलाई विदेश जान बाध्य बनाएको उनको आरोप थियो । ‘पहिले हामी भारतमा जान्थ्यौं र हाल सारा विश्व नै हाम्रा लागि कर्म क्षेत्र हुँदा नेपाल मजदुर उत्पादन गर्ने देशका रुपमा चिनिन थालेको छ,’ उनले भने ।

उनले हाल मजदुरले बाहिरबाट कमाएको रेमिटान्समा नै नेपाल निर्भर भएको बताउँदै नेपालको मजदुरलाई नेपालमै सदुपयोग गर्ने नीति ल्याउन जरुरी रहेको जानकारी दिएका छन ।

कार्यक्रममा उनले निजी क्षेत्र र सरकारबीच मतभेद भएको बताउँदै सरकार र नीजी क्षेत्र एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन । नेपालमा पछिल्लो समय मजदुरहरु वैदेशिक रोजगारीमा जाने गरेका कारण उर्बर जमिन बाँझो भई आन्तरिक उत्पादनमा पनि ह्रास आएको जानकारी दिएका छन ।

कार्यक्रममा औंद्योगिक क्षेत्रका विभिन्न समस्याहरु सुनाउँदै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव अधिकारीले सरकारले उक्त समस्याको समाधान खोजिदिन आग्रह गरेका छन । उनले औद्योगिक क्षेत्रभित्रको जग्गामा छिमेकी मुलुकमा जस्तै ९९ बर्षको भोगाधिकार सहितको लिजमा उद्योग मात्र संचालन गर्नका उपलब्ध गराउने ब्यवस्था गरिदिन आह्वान गरेका छन । यस्तै कार्यक्रममा जग्गाको भाडा वृद्धि पनि २÷२ बर्षमा १५ प्रतिशतले हुने गरेकोमा प्रत्येक ५ बर्षमा पुनरावलोकन हुने भन्नेबाट अत्याधिक वृद्धि गर्ने भन्ने ब्यवस्था हटाउन अनुरोध गरेका छन ।

उनले कच्चा पदार्थको आयात र तयारी आयातको भन्सार दरमा कम्तिमा १५ प्रतिशतको फरक हुनुपर्ने र बैंक ब्याज कम्तिमा ५ बर्ष स्थिर हुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरेका छन ।

हाल महासंघको सम्पन्न साधारणसभाबाट अध्यक्षमा देवराज तामाङ नियुक्त भएका छन । सोही सभाले अन्य ५ जना सदस्य पनि नियूक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL