Logo

विद्युत चोरी नियन्त्रण र सेवा सुधारगर्न प्राधिकरणले गर्यो कार्यसम्पादन सम्झौता, ५० अंक ल्याए पास

विद्युत चोरी नियन्त्रण र सेवा सुधारगर्न प्राधिकरणले गर्यो कार्यसम्पादन सम्झौता, ५० अंक ल्याए पास



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालय अन्तरर्गतका १६ वटा वितरण तथा ग्राहक सेवा केन्द्रसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा जनकपुर क्षेत्रीय कार्यालय अन्तरर्गतका वितरण केन्द्रका प्रमुखहरुसँग शनिबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त सम्झौता गरेका हुन् ।

कार्यसम्पादन सम्झौतामा विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

कार्यक्रममा मन्त्री पुनले सेवा प्रवाह गर्ने शैलीलाई सुधार गरी शुसासनमार्फत आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन । विद्युत् चोरी नियन्त्रणका लागि हुने आक्रामण नियन्त्रणका लागि गृह प्रशासन लगायतसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले पारदर्शी, नैतिकवान, व्यवसायिक र कार्यलयमा चेन अफ कमाण्ड कायम गर्दै निर्धक्क भएर काम गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन ।

चुहावट नियन्त्रणमार्फत आम्दानी बढाउन, प्राधिकरणको पूर्वाधार प्रयोग गरेवापत दूरसंचार सेवा प्रदायक कम्पनीसँग लिनु पर्ने शुल्क असुलीमा कडाई गर्न, खर्च तथा कोटेसनबाट गरिने खरिद नियन्त्रण लगायतमा ध्यान दिन समेत घिसिङले निर्देशन दिएका छन ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, वक्यौता असुल, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान लगायतका सूचांक निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले कार्य सम्पादनको हरेक ४÷४ महिनामा मूल्याङकन गरिने समेत जानकारी दिएको छ । प्राधिकरणले हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको समयमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई नगद पुरस्कार समेत दिने ब्यवस्था गरेको छ ।

तर, ५० प्रतिशत भन्दा कम लक्ष्य हासिल गरेमा कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ ।

गत असारसम्म प्राधिकरणको प्रणालीमा औसत २० दशमलब ४५ प्रतिशत विद्युत चुहावट छ । प्राधिकरणले धेरै विद्युत चुहावट भएकालाई धेरै र कम चुहावट भएकालाई कम चुहावट नियन्त्रणको लक्ष्य दिएको छ । यस्तो लक्ष्य औसतमा ४ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ ।

जनकपुर क्षेत्रीय कार्यलय अन्तरर्गत गत असारसम्मको विद्युत चुहावट ३१ दशमलब ३० प्रतिशत छ । चालु आर्थिक वर्षको कात्तिकसम्म विद्युत चुहावट २८ दशमलब ७५ प्रतिशत छ । चालु आवमा विद्युत चुहावटलाई घटाएर औसतमा २२ दशमलब १९ प्रतिशत कायम गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL