Logo

ढल्केबर सबस्टेसन संचालनमा, भारतबाट २२० केभी प्रसारण लाइनमार्फत विद्युत आयात

ढल्केबर सबस्टेसन संचालनमा, भारतबाट २२० केभी प्रसारण लाइनमार्फत विद्युत आयात



काठमाडौं । देशको सबैभन्दा ठूलो ढल्केबर सबस्टेसन संचालन (चार्ज)मा आएको छ ।

हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सबस्टेसनको बिहीबार राती ११ बजे चार्ज गरी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सब स्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत आयात सुरु भएको छ । यसअघि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत आयात भइरहेको थियो ।

‘ढल्केबर सबस्टेसन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो,’ उनले भने, ‘ढल्केबरमै ४००/२२० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रमा सक्नेछौं ।’ विद्युत आदान प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भइसकेको छ ।

सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत आयात/निर्यातका लागि पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभागप्रमुख प्रबल अधिकारीले जानकारी दिए । स्वचालित भएकाले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भार प्रेषण केन्द्रबाटै सब स्टेसनको संचालन र अनुगमन गर्न सकिने छ । सबस्टेसनमा १६०/१६० एमभीए, २२०/१३२ केभीका दुई वटा ट्रान्सफर्मर रहेका छन् ।

‘सबस्टेसन सञ्चालनमा आएपछि हिउँदको बढी विद्युत माग हुने समय (पिक)मा भारतबाट थप विद्युत आयातका लागि पूर्वाधार तयार भएको छ,’ अधिकारीले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्न समेत बाटो खुलेको छ ।’

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन लाइन विहीबार ६ बजेसम्मको लागि सट डाउन लिइएकोमा आवश्यक सम्पूर्ण कार्य सकिएको हुँदा निर्धारित समयबाटैै विद्युत आयातको निरन्तरता भएको अधिकारीले बताए । उनले त्यहाँबाट करिब एक सय मेगावाट विद्युत आयात भइरहेको जानकारी दिए ।

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाईनमार्फत पिक समयमा दैनिकरुपमा १ सय २० मेगावाटसम्म विद्युत आयात गरेको थियो । अब थप करिब १ सय ५० मेगावाट विद्युत आयात गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ ।

यस अघि ढल्केबरमा सव स्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर भाडाका राखी विद्युत आयात गरिएको थियो । ढल्केबर सबस्टेसन चार्जभएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए ।

विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत सबस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सब स्टेसनको निर्माण गरिएको हो ।

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४मा हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर,सन्तोषजक रुपमा काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७मा तोडेको थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले ६ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL