Logo

१४० मेवा तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, इटालियन र चिनियाँ कम्पनीलाई जिम्मा

१४० मेवा तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, इटालियन र चिनियाँ कम्पनीलाई जिम्मा



काठमाडौं । तनहुँ हाइड्रोपावर निर्माणका लागि निर्माण कम्पनी छनौट भएको छ । कुल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरिएको हो ।

आयोजनाको नदी फर्काउने, बाध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता हुने छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर अर्थात ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा खरिद सम्झौता हुने छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् ।

पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले बताए । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ,’ उनले भने ।

तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव पेश गर्न आहन गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आहन गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १ सय ५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १ सय ८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL