Logo

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच पहिलो पीआईए सम्झौता, भित्रियो ३६ अर्ब

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच पहिलो पीआईए सम्झौता, भित्रियो ३६ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौता (पीआईए) भएको छ । नेपालमा सिमेन्ट उद्योग स्थापनाको लागि बोर्ड र होड्सीबीच आज सम्झौता भएको हो । उत्पादनमुलक क्षेत्रमा विदेशी लगानी भित्र्याउन गरिएको पीआईए यो नै पहिलो हो ।

अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि माहामहिम चिनियाँ राजदूत यू होङको उपस्थितिमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङ्सीका तर्फबाट निर्देशक/महाप्रवन्धक लाई वेईपेङ्ले हस्ताक्षर गरेको हुन् ।

परियोजना लगानी संझौता नेपाल सरकार र कम्पनीबीचको एक करार हो । उक्त सम्झौता १५ बर्षका लागि मान्य हुने अधिकारीले जानकारी दिए । सम्झौतामा दुबै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको छ । यस करार अन्तरगत, नेपाल सरकारले लगानीको सुरक्षा प्रत्याभुती दिंदै कम्पनीको मनोवललाई बढाएको छ ।

सम्झौता अनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापनाको लागि रु ३६ अर्ब ७५ करोड ( करिब ३५ करोड ९१ लाख अमेरिकी डलर ) लगानी गर्नेछ । चीनको होङसी सिमेन्ट ग्रूपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समुह रहेको शिवम् होल्डिङ्को पनि लगानी रहेको छ ।

कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरु गर्नेछ भने पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरणबारे सकारात्मक सन्देश गएको बताए । परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । ‘परियोजना कार्यान्वयनको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छुु,’ उनले भने, ‘बजेटमा प्रतिवद्धता व्यक्त भएअनुसार आवश्यक पूर्वाधार सुविधा सरकारले उपलव्ध गराउनेछ ।’

यसैगरी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको प्रमाणित गरेको बताए । ‘यस सम्झौतासँगै हामीले नेपालमा विश्वस्त भएर लगानी गर्न र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीहरुको लागि नेपालमा लगानीका अवसरको अनन्त ढोका खोलेका छौं,’ उनले भने ।

सो अवसरमा होङ्सी शिवम्का निर्देशक/महाप्रवन्धक लाई वेईपेङ्ले नेपालमा लगानीको वातावरण सम्बन्धी आफ्नै अनुभवले पनि नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL