Logo

भैरहवाको सेज संचालन प्रक्रिया अघि बढ्यो, ५ महिना भित्रै उद्योग संचालनमा आउने

भैरहवाको सेज संचालन प्रक्रिया अघि बढ्यो, ५ महिना भित्रै उद्योग संचालनमा आउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ पुस, काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनको लागि प्रक्रिया अघि बढेको  छ । निर्माण भएको लामो समयपछि उक्त सेज संचालनको तयारीमा पुगेको हो । उक्त सेजको केही समय अघि मात्र उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्योग मन्त्रालयले विहीबार सुचना सूचना प्रकाशित गरेर भैरहवा सेजमा उद्योग सञ्चालनका लागि विदेशी तथा स्वदेशी लागानीकर्ताका लागि आशयपत्रको आह्वान गरेको छ । यससँगै उक्त सेजमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहीत देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

सेजको उद्घाटनसँगै त्यसलाई संचालन गर्नु चुनौती रहेको तर हाल ती चरणहरु लगभग पार गरिएको उद्योग मन्त्री महेश बस्नेतले बताए । ‘अव सेज संचालनको चुनौति र आशंका दुबै समाप्त भएका छन्,’ उनले भने ।
मन्त्री बस्नेतले भैरहवा सेज संचालनमा सेज ऐनले बाधा नपार्ने र आशयपत्रको प्रक्रिया पुरा हँुदासम्म ऐनले पूर्णता पाउने समेत उनले जानकारी दिए ।

सेजका निमित्त प्रमुख सरोजकुमार वैद्यले १ महिनाको समय सिमा तोकेर आशयपत्रका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । ‘आशयपत्र संकलन पश्चात् न्यूनतम ५ महिना भित्रमै सेजमा उद्योग संचालनको प्रक्रिया शुरु हुनेछ,’  उनले भने ।
भैरहवा सेज सञ्चालनको आशयपत्रको मुख्य उद्देश्य विदेशी लगानी बृद्धि गर्नु, निर्यातलाई प्रबद्र्धन गर्नु, प्रविधि हस्तान्तरणलाई प्रबद्र्धन गर्नु र रोजगारीको अवसर सिर्जना गर्नु रहेको छ ।

भैरहवाको सेज कुल ५२ विघा क्षेत्रफल रहेकोमा फैलिएको छ । जसमध्ये २५ विघामा ६९ वटा प्लटमा उद्योग सञ्चालनका लागि अत्याधुनिक सुविधायुक्त भवन तथा अन्य पूर्वाधार निर्माण गरिएको छ । देशभित्र निर्यातमूखी उद्योग सञ्चालनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी भित्रयाउने उद्देश्य अनुरुप सेजको अवधारण ल्याएको थियो ।

भैरहवा सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन गर्ने उद्योगलाई विशेष प्राथमिकता दिइने छ ।

यसका साथै, सिलाईबुनाईका उत्पादन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पाटपुर्जा, सूचना प्रविधि उद्योग र पेय पदार्थ लगायतका उद्योगहरु समेत संचालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL