Logo

अख्तियारको हस्तक्षेपले अन्यौलमा ‘माइक्रो ब्रुअरी’, कहाँ गयो फाइल ?

अख्तियारको हस्तक्षेपले अन्यौलमा ‘माइक्रो ब्रुअरी’, कहाँ गयो फाइल ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्दा माइक्रो ब्रुअरी संचालन अन्यौलमा परेको छ । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतले रेष्टुराँलाई माइक्रो ब्रुअरी संचालन गर्न दिने निर्णय गरेपनि अख्तियारले अनुसन्धानका लागि भन्दै फाइल लगेपछि लाइसेन्स दिने प्रक्रिया नै अन्योलमा परेको हो ।

laxmi

औद्योगिक प्रवद्र्धन बोर्डले गत वर्षको असोजमा २० सिटभन्दा बढी क्षमता भएका होटल, पब तथा रेष्टुराँलाई माइक्रो ब्रुअरी संचालनको अनुमति दिने निर्णय गरेको थियो । जस अनुसार उक्त क्षमता भएका रेष्टुराँले आफैले वियर उत्पादन गरेर बेच्न पाउथे । तर, सो सम्बन्धमा अख्तियारले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि कार्यान्वयनमै आउन नसकेको उद्योग मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

त्यतिवेला औद्योगिक प्रवद्र्धन बोर्डले माइक्रो ब्रुअरी संचालन गर्ने होटल, पब तथा रेष्टुराँलाई पर्यटन उद्योगमा वर्गिकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो । तर, अख्तियारले फाइल गरेर थन्क्याएका कारण हालसम्म राजपत्रमा उक्त सुचना प्रकाशित हुन सकेको छैन ।

औद्योगिक प्रवद्र्धन बोर्डले माइक्रो ब्रुअरी खोल्न चाहने रेष्टुराँले ७ प्रतिशतसम्म अल्कोहल भएको बियर उत्पादन गरी बेच्न पाउने गरी संचालन अनुमति दिने निर्णय गरेको थियो । तर, अख्तियारले लामो समयदेखि फाइल लगेर थन्क्याएका कारण अन्यौलमा परेको उद्योग विभाग स्रोतले जानकारी दिएको छ ।

सरकारले रेष्टुराँ तथा होटललाई सहजताका लागि माइक्रो ब्रुअरी खोल्न दिने निर्णय गरेपनि अख्तियारले अनावश्यक रुपमा फाइल मगाएर निर्णय नगर्दा समस्या उत्पन्न भएको विभागका एक अधिकारीले बताए । ‘अख्तियारले आफुखुशी मन्त्रालयमार्फत फाइल मगाएर लगेको छ,’ विभाग स्रोतले भन्यो, ‘तर, सो विषयमा के भइरहेको छ हालसम्म पनि जानकारी आएको छैन ।’

ठूला ब्रुअरी संचालकले समस्या उत्पन्न गर्दा रेष्टुराँलाई लाइसेन्स दिने प्रक्रिया अवरुद्ध भएको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । ‘ठूला उद्योगीहरुले आफ्नो व्यवसाय गुम्ने भन्दै विरोध गर्दै आएका छन्,’ एक रेष्टुराँ संचालकले भने, ‘जसले गर्दा रेष्टुराँ संचालकहरु समस्यामा परेका छन्् ।’

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्कर भने सो विषयमा जानकारी नभएको बताउँछन् । ‘माइक्रो ब्रुअरीको फाइल अख्तियारमा कसले अध्ययन गरिरहेको छ भन्ने नै जानकारीमा छैन,’ उनले भने, ‘तसर्थ सो विषयमा के भइरहेको छ भन्न सकिने अवस्था छैन ।’ उद्योग मन्त्रालयबाट अनुसन्धानका लागि भन्दै फाइल लगेपनि हाल अख्तियारमा सो सम्बन्धमा के भइरहेको छ भन्ने विषय नै जानकारीमा छैन ।

के हो माइक्रो ब्रुअरी ?

विश्वमा माइक्रो ब्रुअरीको शुरुवात सन् १९७० मा बेलायतबाट भएको हो ।  माइक्रो ब्रुअरी थोरै परिमाणमा बियर उत्पादन गर्ने उद्योग हो । निश्चित क्षमताका होटल तथा रेष्टुराँ आफैले बियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्न पाउँछन् । माइक्रो ब्रुअरीलाई स्वाद, गुणस्तर र उत्पादन गर्ने प्रविधिका आधारमा वर्गिकरण गरिन्छ ।

विश्वमा संचालित माइक्रो ब्रुअरीले थोरै मात्रामा वियर उत्पादन गरी आफ्ना ग्राहकलाई मात्रै बेच्ने गर्दछन् । यसरी उत्पादन हुने बियर आधारभूत स्वास्थ्यको मापदण्ड पुरा गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL