Logo

प्लाष्टिक उद्योग बन्द हुँदा ३० अर्ब डुब्दै, सामानसँगै आयात हुनथाले झोला

प्लाष्टिक उद्योग बन्द हुँदा ३० अर्ब डुब्दै, सामानसँगै आयात हुनथाले झोला


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले बजेट बक्तव्यमार्फत प्लाष्टिको झोला उत्पादनमा रोक लगाउँदा झण्डै ३० अर्ब रुपैयाँ नोक्सान हुन पुगेको नेपाल प्लाष्टिक उद्योग संघले बताएको छ । सरकारले नेपालमा प्लाष्टिक उत्पादनमा रोक लगाउँदा त्यस्ता उद्योगमा लगानी भएको उक्त रकम धरापमा परेको हो ।

सरकारले हचुँवाको भरमा सवै खालका प्लाष्टिक उत्पादनमा रोक लगाएपछि त्यससँग सम्बन्धित उद्योगीहरु समस्यामा परेको नेपाल प्लाष्टिक उद्योग संघका अध्यक्ष शरद शर्माले बताए । ‘केही समय अघि कामठमाडौं उपत्यका भित्र २० माइक्रोनभन्दा तलका प्लाष्टिक झोला उत्पादनमा रोक लगाएको सरकारले बजेटमार्फत सम्पूर्ण उत्पादनमा रोक लगाएको छ,’ उनले भने, ‘सरकारले एक्कासी यस्तो निर्णय गर्दा धेरै व्यवसायीहरुको विचल्ली भएको छ ।’

उनका अनुसार देशभर ४ सय भन्दा बढी प्लाष्टिक उद्योग रहेको र त्यसमा २५ देखि ३० अर्ब रुपैयाँ लगानी भएको छ । सरकारको यस्तो निर्णयले व्यवसायीको लगानी डुब्नुका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २५ हजारभन्दा बढीको रोजीरोटी खोसिने भएको छ । सरकारले नेपालमा पनि उत्तर कोरियाको जस्तो नियम लाद्न खोजेको उनको तर्क थियो ।

सरकारले बजेट मार्फत हाल प्लाष्टिक उद्योग संचालन गर्दै आएका व्यवसायीहरुले अन्य उद्योमा जाँदा १ प्रतिशत भन्सार दरमा मेशिन तथा औजार आयात गर्न दिने भनेको छ । तर, संचालनमा रहेका उद्योग बन्द गरेर अन्य उद्योगमा तत्काल जान नसकिने व्यवसायीहरु बताउँछन् । तत्काल उद्योग बन्द गर्दा उद्योगमा भएको लगानीका साथै बजारमा भएको ठूलो परिमाणको लगानी डुब्ने खतरा रहेको उनीहरुको धारणा छ ।

केही समय अघि देखि सरकारले काठमाडौंमा प्लाष्टिका झोला उत्पादनमा रोक लगाएसँगै हाल सामान आयातकर्ताले सामानसँगै प्लाष्टिक झोला पनि आयात गर्न थालेका छन् । उनीहरुले सामानको वाक्साभित्रै आवश्यक प्लाष्टिकको झोला ल्याउने गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘सरकार नेपाली उद्योगलाई जर्वजस्ती बन्द गराउन लागेको छ,’ उलने भने, ‘तर, विदेशबाट खुलम्खुला आयात भइरहेको छ ।’

सरकारले खुला अर्थतन्त्रको विपरित गएर प्लाष्टिक उद्योग बन्द गराएको बताउँदै यस्तै निर्णय गर्दै जानेहो भने आगामी दिनमा वातावरणकै नाममा सिमेन्ट उद्योग पनि बन्द गराउने सक्ने उनको भनाइ थियो । यस्ता खालका नियर्णयले स्वदेशी उद्योग निरुत्साहित हुनुका साथै आयातलाई प्रोत्साहन मिल्ने उनको तर्क थियो ।

सरकारले बजेट वक्तव्यमार्फत प्लाष्टिक तथा पोली प्रोपीलिन झोला उत्पादन तथा विक्री वितरण र आयात निर्यातमा रोक लगाउने निर्णय गरेको छ । सो निर्णयसँग निर्यातको लागि आवश्यक प्याकेजिङ सामग्री पाउन समेत कठिन हुने देखिएको छ । सरकारले २० माइक्रोनभन्दा तलमा प्लाष्टिक झोला उत्पादनमा रोक लगाएसँगै उद्योगीहरुले थप लगानी गरेर ठूला सपिङ मल तथा डिपार्टमेन्टल स्टोरका लागि पोली प्रोपीलिन झोला उत्पादन गर्दै आएको थिए । यो निर्णयले त्यस्ता उद्योगहरु पनि बन्द हुने भएका छन् । हाल नेपालमा ८ भन्दा बढी त्यस्ता उद्योग रहेका र त्यसमा पनि साढे ३ अर्ब भन्दा लगानी रहेको छ ।

सरकाले विभिन्न गैर सरकारी संस्थाको प्रलोभनमा परेर प्लाष्टिक उद्योग बन्द गराउन लागेको समेत सम्बद्ध व्यवसायीहरुको तर्क थियो । ‘प्लाष्टिक बन्द गराउने नाममा केही एनजिओहरु लागि परेका छन्,’ एक व्यवसायीले भने, ‘सरकार पनि त्यसकै पछि लागेर नेपाली उद्योगीहरुलाई धराशयी बनाउँदै छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL