Logo

१७ प्रतिशतले घट्यो चिनी उत्पादन, सरकारले शुरु गर्यो भारतसँग खरिद प्रक्रिया

१७ प्रतिशतले घट्यो चिनी उत्पादन, सरकारले शुरु गर्यो भारतसँग खरिद प्रक्रिया


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उखुको उत्पादन घटेसँगै बजारमा चिनीको अभाव हुने संकेत देखिएपछि सरकारले भारतबाट आयात गर्ने प्रक्रिया शुरु गरेको छ । २०७३ मा चिनीको उत्पादन घटेकाले सरकारले भारतबाट आयात प्रक्रिया शुरु गरेको हो । यो सिजनका चिनी उत्पादन १७ प्रतिशतले घटेको नेपाल चिनी उत्पादक संघले जानकारी दिएको छ ।

हाल सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतबाट चिनी खरिद गर्न लागिएको आपूर्ती मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए । भारतबाट ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरिरहेको उनले बताए । ‘भारतबाट चिनी आयात गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै आयात प्रक्रिया शुरु गर्ने छौं ।’

रेग्मीका अनुसार बजारमा अघिल्लो वर्षको स्टक समेत गरी जम्मा १ लाख ६५ हजार मेट्रिक टन चिनी स्टकमा छ । तर, नेपाललाई २ लाख मेट्रिक टन आवश्यक पर्ने भएकोले खरिद गर्न लागेको हो । केही उद्योगीहरुले गत बर्षको स्टक रहेको चिनीले बजारको माग धान्ने भनेपनि बजारमा भाउ बढ्न थालेपछि चिनी आयातको तयारी गरिएको रेग्मी बताउँछन् । ‘नेपामा भएको उत्पादनका मात्र भर पर्दा बजारमा चिनी अभाव हुन सक्छ,’ उनले भने, ‘त्यसैले किन्न लागेको हो ।’

गत बर्षको क्रसिङ सिजनमा चिनीको उत्पादन घट्दा बजारमा अभाव देखिन लागेको हो । आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । यता अर्थले भने ३० हजार मेट्रिक टन मात्रै ल्याउन स्वीकृति दिएको हो ।

चिनी उद्योग संघका अनुसार गत बर्षको क्रसिङ सिजन (मंसिर देखि चैत) १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । तर, अघिल्लो बर्ष अर्थात २०७१ मा १ लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो उत्पादन २०७१ को तुलनामा १७ प्रतिशतले कमि हो । तर, २०७० मा भने २ लाख मेट्रिक टन उत्पादन भएको थियो ।

चिनीको क्रसिङ सिजन ३ बर्षको हुने भएकोले उत्पादन घटेको संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । क्रसिङ सिजनको पहिलो बर्ष चिनीको उत्पादन बढ्छ । त्यस्तै दोश्रो र तेस्रो बर्षमा उत्पादन घट्ने गर्छ । एक पटक लगाएको उखुबाट ३ बर्षसम्म चिनी निकाल्न सकिन्छ । उनका अनुसार आगामी बर्ष चिनीको उत्पादन बढ्ने छ । तर, सरकारले दशैभन्दा १ महिना अगावै चिनी भारतबाट चिनी आयात गर्नुपर्ने अग्रवालको भनाइ छ ।

हाल नेपालमा १० ओटा चिनी उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये एभरेष्ट सुगर मिलले सवैभन्दा बढी चिनी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL