महङ्गो छैन पाठेघरको उपचार, २० हजारमै नेपालमै अन्तरराष्ट्रिय सेवा

dr rangina shah

कुनै पनि बयस्क दम्पत्तीले एक बर्षसम्म नियमित परिवार नियोजनको साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा पनि गर्भ नरहनु बाँझोपन हो । सामान्यतया नेपालमा यस विषयमा राम्रो ज्ञान भएको पाईँदैन । यस्ता किसिमका समस्या लिएर डाक्टरकहाँ जाँदा स्पष्ट रुपमा खुल्नु पर्दछ अथवा सबै खुलस्त बोल्नुपर्दछ । जसको कारण डाक्टरलाई उनीहरुको समस्याको बारेमा विस्तृत रुपमा जान्न मद्दत पुग्दछ ।

कतिपय जोडीहरु डाक्टरकहाँ आउँदा महिला साथी मात्रै उपस्थित हुने प्रवृत्ति छ । जसले डाक्टरहरुलाई बाँझोपन कुन व्यक्तिमा, महिलामा या पुरुषमा भएको हो भनेर छुट्याउन गाह्रो पर्दछ । साथै महिला मात्रै उपस्थित भएर उपचार गराउँदा २ देखि ३ महिनासम्म लगातार उपचार गर्दा ठिक नहुने सम्भावना भएपछि पुनः पुरुषलाई जाँच गर्नुपर्ने हुन्छ । यसरी छुट्टाछुट्टै जाँच गर्नुभन्दा दुबैजना एकैचोटी आएर जाँच गर्दा राम्रो पनि हुन्छ र डाक्टरलाई सहि जानकारी पनि प्राप्त हुन्छ । जसमा पुरुषहरुको शुक्रकिट र महिलाको पाठेघरसम्बन्धी जाँच गर्नु पर्ने हुन्छ ।

बाँझोपन खासगरी पुरुषमा र महिलामा विभिन्न कारणले हुने गर्दछ । जस्तै पुरुषमा जिउदो शुक्रकिटहरुको कमी, शुक्रकिटको उत्पादन कम हुनु, मरेका शुक्रकिटको संख्या बढी हुनु लगायतका कारणहरु पुरुषमा हुने बाँझोपनका कारणहरु हुन । त्यस्तै महिलामा भने पाठेघरको अनिश्चित आकार, नलीहरुमा जाली अर्थात पर्दा उत्पन्न हुने तथा डिम्वाशयले राम्रोसँग नियमित डिम्वहरुको उत्पादन नगर्नाले महिलामा बाँझोपन हुने समस्या देखापर्दछ ।

यस्तै पुरुषको पेशाले पनि बाँझोपनमा प्रभाव पर्दछ । जस्तै धेरै कम्प्युटरमा बस्ने, उभिराख्ने, धेरै तातोमा काम गर्ने, टाईट लुगाहरु लगाउने, धुम्रपान मद्यपान गर्ने पुरुषहरुमा शुक्रकिट घट्ने अवस्था देखिन्छ । यस्तै पुरुषहरुमा शुक्रकिटको मात्रा पुगेपनि जिउँदो शुक्रकिटको मात्रा कम र मरेका शुक्रकिटको मात्रा बढी भएर पनि बच्चा नरहने, भएको बच्चा पनि झर्ने लगायतका समस्या देखापर्दछन । साथै शुक्रकिट आउने बाटो बन्द हुनु, सानो छँदा अण्डकोषमा चोट लाग्नुजस्ता समस्याले पनि बच्चा नरहने अवस्था रहन्छ । तसर्थ डाक्टरसँगको सल्लाह गर्नेबेला यस्ता प्रकारका प्रश्नहरुको स्पष्ट जवाफ दिएमा सजिलो हुने र बाँझोपनको कारण पत्ता लगाउन सजिलो हुन्छ ।

महिलाहरुमा भने सामान्यतया पाठेघरको आकार नास्पाती आकारको नभएमा र जन्मजात नै यसको बनावट बिग्रेको खण्डमा बाँझोपन हुने समस्या आउँछ । साथै नियमित रुपमा डिम्ब उत्पादन नहुनाले पनि यसको समस्या रहन्छ । यस्तै डिम्वाशयमा अन्डा उत्पादन नहुने रोगका कारण, नली बन्द हुने, नलीमा कुनै किसिमको रोग लाग्नु, नलीमा कुनै खराबी हुने तथा पाठेघरभित्र पर्दा बन्नु, हर्माेन घटबढ लगायतका कारणले पनि महिलामा बाँझोपनको समस्या देखा पर्दछ ।

यस्तै यसको निदानका लागि विभिन्न किसिमका चिरेर गरिने अप्रेशन, ल्याप्रोस्कोपी लगायतका प्रविधि हाल प्रयोगमा आए पनि यिनिहरुले रोगको निदान राम्रोसँग नहुने, भएको रोग पनि पुनः बल्झिने, तथा अनावश्यक आर्थिक खर्च हुने लगायतका समस्या देखा पर्ने देखिएको छ । महिलाको पाठेघरको उपचारमा तथा जाँचमा यस्ता किसिमका समस्या नल्याई नयाँ प्रविधिबाट पनि उपचार र जाँच गर्दै समय तथा पैशा बचाउन सकिन्छ भने रोगको निदान पनि गर्न सकिन्छ ।

महिलाहरुको पाठेघर भित्री अवस्था पत्ता लगाउने तथा सोही अनुसार रोगको उपचार गर्ने विधि हिस्टेरोस्कोपी हो । यो प्रविधि सानो दुरविनको माध्यमले पेट नचिरिकनै र प्वाल नपारिकनै पाठेघरभित्रको समस्या, रोग आदिको बारेमा पत्ता लगाउन र रोगको उपचार गर्ने विधि हो ।

histeroscopy

हिस्टेरोस्कोपीको माध्यमबाट पाठेघरको बन्द भएको नली खोलिँदै

हिस्टेरोस्कोपी प्रविधिले महिलाको नली खुल्ला या बन्द भएको हेर्न, पटकपटक बच्चा खेर जाने समस्या पाठेघरमा भएको पर्दा हो या होइन पत्ता लगाउन तथा यसलाई काटेर पहिलेकै अवस्थामा ल्याउन मद्दत पर्याउँदछ । यस्तै यसको प्रयोगले महिलाहरुको पाठेघरको बारेमा थाहा पाउन कुनै किसिमको एक्स रे, भिडियो एक्स रे लगायतका कार्यहरु नगरीकन तथा पेट नचिरिकन उपचार गर्न सम्भव छ । यस प्रविधिमा सानो दुरविनलाई बच्चा जन्मिने बाटोको माध्यमबाट भित्र छिराई पाठेघरको बारेमा जानकारी लिन सकिन्छ ।

यस्तै पाठेघरभित्र धेरै रगत बग्ने, विभिन्न घाउहरु हुने लगायतका समस्याको पनि सफल निदान गर्न सकिन्छ । नेपालमा जनचेतनाका कारणले यस्तो प्रविधिको बारेमा धेरैले थाहा पाईसकेका छैनन । हामीहरु पनि यसको जनचेतनाका लागि विभिन्न प्रकारका शिविर संचालन गर्ने, विभिन्न कार्यक्रमहरु गर्ने लगायतका कामहरु गरिरहेका छौँ ।

histeroscopy

हिस्टेरोस्कोपीको माध्यमबाट पाठेघर भित्र पलाएको पर्दाको जाँच

यस्तै यस प्रविधिबाट पाठेघरको भित्र पलाएको ट्युमर पनि निकाल्न सकिन्छ ।

हामी नयाँ प्रविधि भित्र्याउन लागि परेका छौं जसमा हिस्टेरोस्कोपी पनि एक हो । विश्वमा नयाँ नयाँ प्रविधि आईरहेको बेला नेपाल किन पछि पर्ने भनेर नयाँ प्रविधि भित्र्याउन खोजेका हौैँ । हामीले पुरानो प्रविधिमा धेरै चिरेर अप्रेशन गर्दै लाखौं रुपैयाँ खर्च गरेर पनि यसको निदान नहुने गरेकोमा अब १० देखि २० हजारमा यो सबै काम हुन्छ । जम्मा २० मिनेटमा आफ्नै आँखाले हेर्दै उपचार गर्न सकिन्छ । हामी हाम्रो प्रविधिलाई नेपालमा मात्रै नभएर अन्तरराष्ट्रिय स्तरमा पनि पुर्याउने कोसिस गरिरहेका छौं ।

डा. शाह अल्का अस्पताल जावलाखेलकी वरिष्ठ गाईनोकोलोजिस्ट हुन । 


फेसबूक कमेन्ट गर्नुहोस्