Logo

सनराईज बैंकको सीईओ शर्मालाई अर्थमन्त्रीको टेको, पन्छियो राष्ट्र बैंक

सनराईज बैंकको सीईओ शर्मालाई अर्थमन्त्रीको टेको, पन्छियो राष्ट्र बैंक



काठमाडौं । सनराईज बैंकमा भएको संचालकहरु र प्रमुख कार्यकारी अधिकृतको विवादबाट राष्ट्र बैंक पछि हटेको छ । राष्ट्र बैंकले सनराईजका संचालकहरुलाई बोलाएर छलफल गर्दा उनीहरुबीच विवाद नदेखिएपछि राष्ट्रैं बैंक पछि हटेको थियो ।

laxmi

सनराईज बैंकमा संचालकहरुबीच विवाद भएको र राष्ट्र बैंकले टेकओभर गर्न सक्ने समेतका हल्लाहरु बाहिर आएका थिए । तर बैंकका संचालकहरुलाई बोलाएर छलफल गर्दा उहाँहरु बीच कुनै विवाद नदेखिएको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देबकुमार ढकालले जानकारी दिए ।

‘राष्ट्र बैंकले बोलाएर छलफल गर्दा संचालकहरुबीच विवाद नदेखिएको तर संचालक र सीईओबीच विवाद भएको भेटियो,’ उनले भने, ‘सीईओको विषयमा निर्णय गर्ने अधिकार बैंक बोर्डलाई नै भएको हूँदा एक आपसमा छलफल गरेर टुङगो लगाउन निर्देशन दिएका छौं ।’

सनराईज बैंकका ७ जना संचालकमध्ये ६ जना संचालक जसरी पनि सीईओ हटाउनु पर्ने पक्षमा उभिएका थिए । उनीहरुले राष्ट्र बैंक समक्ष पनि सीईओले आफुखुशी काम गरेको, बैंकको हितमा काम नगरेको, सिर्जना फाइनान्ससँगको मर्जर भाड्न भुमिका खेलेको जस्तो आरोप लगाएका थिए । अध्यक्ष बाहेक बैंकका ६ जना सदस्य एक भएर सीईओको विरोधमा लागेपछि राष्ट्र बैंकले पनि आपसी सहमतिमा मिलाउनु भन्दै फर्काइदिएको थियो ।

यस अघि बैंक संचालक समितिले अध्यक्षले सीईओ हटाउन नमाने अध्यक्ष समेत हटाउने तयारी गरेका थिए । तर, सोही अनुरुप मंगलबार (आज) बस्ने संचालक समितिको बैंठकले अध्यक्ष सहितको सहमतिमा सीईओ हटाउने तयारी गरका थिए ।

तर अर्थमन्त्री डा. युवराज खतिवडाले ठाडो हस्तक्षेप गरी तत्काल सीइओ नहटाउनका लागि दबाब दिएपछि संचालक समितिको आज बस्ने भनिएको बैंठक समेत रोकिएको छ । ‘आज बोर्ड बसेर सीईओ हटाउने भनेएिन पनि अर्थमन्त्रीको दबाब पछि रोकिएको छ,’ बैंक स्रोतले भन्यो, ‘सीईओको विषयलाई लिएर अर्थमन्त्रीले नै हस्तक्षेप गरेपछि तत्कालका लागि सीईओको जागिर जोगिने भएको छ ।’

तत्काल सीईओ हटाउँदा अर्थमन्त्रीको छोरा तिलक खतिवडाको समेत जागिर धरापमा पर्ने भएपछि अर्थमन्त्रीले हस्तक्षेप गरेका थिए । खतिवडाका छोरा सीईओ शर्माको नियुक्तिसँगै जनता बैंकबाट दुई तह बढुवा हुँदै सनराईज बैंक गएका थिए ।

तत्कालिन समयमा संचालकहरुबीच विवाद भएर भर्खर सीईओ नियुक्त भएका अजय श्रेष्ठलाई हटाएर सीईओको रुपमा जनकराज शर्मालाई लैजानका लागि तिलक खतिवडाको ठूलो भुमिका रहेको थियो । र अहिले शर्मालाई हटाउँदा अर्थमन्त्री खतिवडाको छोरा तिलकको पनि जागिर धरापमा पर्ने भएकाले तत्कालका लागि सीईओको पद थमौती गर्न निर्देशन दिएका हुन् । तर बैैंक संचालकहरुले भने तत्कालका लागि शर्माको पद थमौती भएपनि केही समय पछि पुनः हटाईने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL