Logo

कोरोना कारण शोधनान्तर बचतमा उल्लेख्य सुधार, आयात घट्दा थुप्रियो पैसा

कोरोना कारण शोधनान्तर बचतमा उल्लेख्य सुधार, आयात घट्दा थुप्रियो पैसा



काठमाडौं । काठमाडौं । करिव ४ बर्ष यता देशको शोधनान्तर स्थितीमा उल्लेख्य सुधार आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक बर्ष २०७६/७७ को ११ महिनाको तथ्याङ्क अनुसार देशको शोधनान्तर स्थिती १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ । जबकि आर्थिक बर्ष २०७५/७६ मा देशको शोधनान्तर स्थिती ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा थियो ।

कोरोना पछिको लकडाउनका कारण देशको आयात ठप्पजस्तै हुन पुग्दा शोधनान्तर स्थितीमा उल्लेख्य सुधार आएको राष्ट्र बैंकले जानकारी दिएको छ । आव २०७६/७७ मा नेपालको कुल आयातमा १५ दशमलव ३ प्रतिशतले गिरावट आउँदै ११ खर्ब ८० अर्ब रुपैयाँको मात्र आयात भएको छ । जबकि आव २०७५/७६ को ११ महिनामा यस्तो आयातमा १७ प्रतिशतले वृद्धि भएको थियो ।
यसैगरी सो अबधिमा खर्च कम तथा विभिन्न देशबाट भित्र्ने रेमिटान्समा सुधार आउँदा पनि देशको शोधनान्तर स्थितीमा सुधार आएको हो ।

यसैगरी समीक्षा अवधिमा चालु खाता घाटा ७१ दशमलव २ प्रतिशतले घट्दै ७१ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा कुल वस्तु निर्यात ०.२ प्रतिशतले वृद्धि भई ८८ अर्ब रुपैयाँ पुगेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११ दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२ दशमलव १ प्रतिशत र १८ दशमलव ३ प्रतिशतले घटेको छ ।
सो अबधिमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी सो अबधिमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ । तर सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL