Logo

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्ने

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुग्ने



काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

laxmi

बुधबार काठमाडौंमा भएको बैंकको विशेष साधारण सभामा सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि प्रस्ताव गरेका थिए । सोही अनुसार साधरण सभाले प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ ।

मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पछि बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि भई ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने बैंकका अध्यक्ष शाहले जानकारी दिएका छन ।

सभामा बोल्दै मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताईन । ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाटसमेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पछि ५८ जिल्लामा फैलने बताईन ।

देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं स्थान र मुनाफाका आधारमा ११ औं स्थानमा रहने सिइओ खुञ्जेलीले जानकारी दिएकी छिन ।

उनका अनुसार गण्डकीलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँ भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा बढी हुने भएको छ । त्यस्तै बैंकको शाखा संख्या २०६, एक्सटेन्शन काउन्टर ३०, एटीएम १४२ वटा हुनेछन् ।

त्यस्तै पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको बुधबार सम्पन्न विशेष साधारण सभाले गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेका प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL