Logo

ऋणीलाई एनआईसी एशिया बैकको बम्पर अफर : १०% क्यास ब्याक, २ प्रतिशत ब्याज मिनाहा

ऋणीलाई एनआईसी एशिया बैकको बम्पर अफर : १०% क्यास ब्याक, २ प्रतिशत ब्याज मिनाहा



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकको लागि बिशेष छुट अफर ल्याएको छ । बैंकले कोरोना महामारीको अवधिमा नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटका साथै वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो ।

laxmi

बैंकले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पुर्याउने उद्देश्यले नियमनकारी निकायबाट जारी निर्देशनको पालना गर्दै सोको अलावा थप सहुलियत प्रदान गरेको हो । नियमनकारी निकाय राष्ट्र बैंकले २ प्रतिशत छुट दिन निर्देशन दिए पनि बैंकले थप १० प्रतिशत छुट दिने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको २०७६ चैत १६ गतेको निर्देशनको पालना गर्दै चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम ग्राहकको खातामा जम्मा गरिसकेको बैंकले जानकारी दिएको छ । साथै एनआईसी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना लागु गरिसकेको छ ।

उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरिएको छ । प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशतले कम गर्न पत्र संख्या बैं.वि.नि.नि-नीति-सूचना- २१-०७६-७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६-७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै २०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण गर्न सकिने निर्देशनमा उल्लेख छ ।

तर माथि उल्लेख गरिएको छुटमा खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरुमा छुट नपाउने ब्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यसअघि पनि २०७६ चैत १६ गतेको पत्र संख्या बैं.वि.नि.वि-नीति-सूचना-१८-०७६-७७ मार्फत निर्देशन जारी गर्दै २०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरुले चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL