Logo

कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको राहत प्याकेज : २ प्रतिशतले घटायो ब्याज, के-केमा पाईन्छ सुविधा

कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको राहत प्याकेज : २ प्रतिशतले घटायो ब्याज, के-केमा पाईन्छ सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायका लागि राहत प्याकेज ल्याएको छ । कारोना पश्चात भएको लकडाउनका कारण तत्काल असर परेका व्यवसायका लागि राष्ट्र बैंकले २ प्रतिशत विन्दुले ब्याज घटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेको हो ।

राष्ट्र बैंकको सर्कुलर अनुसार पोल्ट्री व्यवसाय, निर्मार्णाधिन जलविद्युत आयोजना, साना तथा मझौला उद्योगले उक्त सुविधा पाउने छन् । तर खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले भने उक्त सुविधा पाउनेछैनन् ।

त्यसैगरी, लघुवित्त संस्थाहरुले दिएको खुद्रा ऋणमा पनि चैत मसान्तमा कायम ब्याजदरभन्दा ३ प्रतिशत विन्दुले घटाउनुपर्ने छ । यसअघि त्यस्ता संस्थाहरुले १८ प्रतिशत ब्याजमा ऋण दिएको साष्ट्र बैंकको सर्कुलर अनुसार अबका दिनमा १५ प्रतिशतभन्दा कम ब्याज लिनुपर्ने छ ।

यसैगरी ऋणीहरुले वैशाख र जेठ महिनामा तिर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तभित्र तिर्दा कुनै हर्जाना र जरिवाना लिन नपाइने व्यवस्था गरेको छ । यस अघि चैतसम्म तिर्दा छुट दिनुका साथै हर्जना लिन नपाईने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका अनुसार लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालु प्रकृतिका अल्पकालीन कर्जाको साँवा र ब्याजको भुक्तानी ६० दिनसम्म थप गर्न सकिने भएको छ भने कोरोना भाइरसका कारण संकटमा परेका उद्योग तथा व्यवसायलाई थप पुँजी लगानी गर्न पनि बाटो खोलिदिएको छ ।

राष्ट्र बैंकले होटल, रेस्टुराँ, रिसोर्ट, ट्राभल, ट्रेकिङ लगायतका पर्यटनसम्बन्धी उद्योग, हवाई उड्डयन, व्यवसायीक सवारी साधन, साना र मझौला उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, पोल्ट्री व्यवसाय आदिमा आवश्यकताका आधारमा १० प्रतिशतसम्म थप चालु पुँजी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला उद्यममा प्रवाह गरिएको १५ लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने स्किम समेत ल्याएको छ । यस्ता कर्जामा साना ऋणीले बढीमा ५ प्रतिशत ब्याजमा कर्जा पाउनेछन् ।

राष्ट्र बैंकले कर्मचारीका तालिमका लागि निश्चित प्रतिशत रकम अनिवार्य रुपमा खर्च गर्न पर्ने व्यवस्थालाई स्थगत गर्दै बैंकहरुको खर्च घटाउने नीति लिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ भने त्यस्ता कर्जाको ब्याजदर ५ प्रतिशत कायम गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी राष्ट्र बैंकले बजारमा तरलता उपलब्ध गराउनका लागि अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर ३ प्रतिशतमा झारेको छ । यस अघि सीआरआर ४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL