Logo

व्यवसाय संचालनका लागि एनआईसी एशिया बैंकले प्रयोगमा ल्यायो क्युआर कोड, यसरी गर्न सकिन्छ कारोबार

व्यवसाय संचालनका लागि एनआईसी एशिया बैंकले प्रयोगमा ल्यायो क्युआर कोड, यसरी गर्न सकिन्छ कारोबार



काठमाडौं । एनआईसी एशिया बैंकले ब्यवसायीहरुलाई क्युआरकोड प्रदान गर्ने भएको छ । बैंकले आपतकालीन अवस्थामा ग्राहकलाई खाद्यान्न सामग्री घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको हो ।

बैंकले विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई उक्त कोड प्रदान गर्ने भएको हो ।

लामो समयको लकडाउनका कारण ग्राहकसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले उक्त योजना ल्याएको हो । ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरि क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सो रकम सिधै सम्बन्धित व्यवसायीको बैंकखातामा जम्मा हुनेछ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत क्युआर कोड प्रदान गर्नेछन ।

व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

बैंकले उक्त इमेल प्राप्त गरेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ । सम्पर्कपछि व्यवसायीलाई क्युआर सेवाका लागि फारम भरे पछि व्यवसायीले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गरे पछि बैंकले उक्त कोड प्रदान गर्ने छ । कोड प्राप्त गरेपछि सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त कोड स्वयम् प्रिन्ट गरी ग्राहकसँग मोबाइल बैंकिङमार्फत भुक्तानी लिन सक्नेछन ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत ९ गतेबाट मोबाइल बैंकिङबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकले मोबाइल बैंकिङ क्युआरकोडबाट समेत प्रतिदिन १ लाख रुपैयाँ तथा प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन । बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आर्यरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL