Logo

सरकारको बार्षिक लक्ष्य पहिलो महिनामै खायो फेल, किन खुम्चिदैछ रेमिटान्स आप्रबाह

सरकारको बार्षिक लक्ष्य पहिलो महिनामै खायो फेल, किन खुम्चिदैछ रेमिटान्स आप्रबाह



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७६/७७ को लागि मुद्रास्फिती ६ प्रतिशतभन्दा माथी जान नदिनेगरी बजेट ल्याएपनि उक्त लक्ष्य भित्र रहन असफल भएको छ । नेपाल राष्ट्र बैंकले चालू आबको पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गर्दै मूल्य वृद्धि ६ दशमलव ९५ प्रतिशत रहेका तथ्याङ्क सार्वजनिक गरेसँगै उक्त लक्ष्यमाथी प्रश्न खडा भएको हो । जबकि गत आबको सोही अबधिमा यस्तो मुद्रास्फिती ४ दशमलव १९ प्रतिशत मात्र रहेको थियो ।

सरकारले बजेटमा उल्लेख गरे अनुरुपनै नेपाल राष्ट्र बैंकले पनि चालू आबको मौद्रिक नीतिमार्फत आर्थिक वृद्धि साढे ८ प्रतिशत र मुद्रास्फिती ६ प्रतिशत हुने बताएको थियो । तर, बजारमा खाद्य तथा पेय पदार्थको मूल्य आकासिएसँगै समग्र मुद्रास्फिती बढ्न पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव १२ प्रतिशत रहेको छ ।

विशेषगरी सो अबधिमा तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ शदमलव ९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहदा भारतको ३ दशमलव ६९ प्रतिशत रहेको थियो ।

सो अबधिमा प्राथमिक वस्तुको १३ दशमलव १० प्रतिशत, इन्धन तथा उर्जाको ६ दशमलव ९५ प्रतिशत र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति ३ शदमलव ४५ प्रतिशत रहेको छ ।

यसैगरी सो अबधिमा मूल्य वृद्धि उच्च हुनुका साथै नेपाल भित्र्ने रेमिटान्सको वृद्धिदरमा पनि उच्च गिरावट आएको छ । आब २०७५/७६ को पहिलो महिनामा नेपाल भित्रने रेमिटान्सको वृद्धिदर ३३ प्रतिशतभन्दा माथी रहेकोमा आब २०७६/७७ को सोही अबधिमा आईपुग्दा यस्तो वृद्धिदर खस्कदै २ प्रतिशतमा सिमित हुन पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएसँगै नेपाल भित्रने रेमिटान्स सोही अनुरुप घट्न पुगेको नेपाल विप्रेषक संघका अध्यक्ष तथा आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेल बताउँछन् । विशेषगरी सरकारले १५ महिनासम्म नेपाली कामदारलाई मलेशियाको रोजगारीमा जान रोक लगाउँदा त्यसको असर नेपाल भित्रने रेमिटान्समा पर्न गएको हो ।

यसभन्दा अघि नेपालमा रेमिटान्स भित्र्याउने प्रखुम स्रोत मुलुकमा मलेसिया रहेको थियो । यस अघि मलेसियाको रोजगारीमा गएका कामदारहरु सम्झौता सकिएर फर्किने क्रम उच्च रहेको र हाल रोजगारीमा जान समेत रोकिएका कारण रेमिटान्स आप्रबाह वृद्धिदरमा उच्च गिरावट आएको पोखरेल बताउँछन् । साथै संयुक्त अरव इमिरेट्सलगायतका मुलुकबाट पनि नेपाली कामदार फर्कने क्रम उच्च रहेको हुँदा रेमिटान्स वृद्धिदरमा धक्का पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL