Logo

अर्थमन्त्रीले भने, ‘नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै उत्कृष्ट छ, अब ढुक्क हुनुस बैंकमा राखेको निक्षेप डुब्दैन’

अर्थमन्त्रीले भने, ‘नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै उत्कृष्ट छ, अब ढुक्क हुनुस बैंकमा राखेको निक्षेप डुब्दैन’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा निक्षेपकर्ताहरु आफ्नो निक्षेप डुब्यो भन्दै बैंक काउण्टरमा लाइन लाग्न जाने परिपार्टीको अन्त्य भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन सिलान्यास गर्दै अबका दिनमा कुनै पनि निक्षेपकर्ताहरु आफ्नो निक्षेप डुब्यो भनेर बैंकको काउण्टरमा लाईन लाग्न जानुपर्ने परिपाटीको अन्त्य भएको बताएका छन् । ‘आजभन्दा १० बर्ष पहिला कुनै सामान्य हल्ला आउने वित्तिकै निक्षेपकर्ताहरु बैंकको काउण्टरमा लाईन लागेर आफुले जम्मा गरेका रकम निकाल्न थाल्थे,’ उनले भने, ‘निक्षेप तथा कर्जा सुरक्षण कोष सक्षम हुँदै गएपछि त्यो परिपाटीको अन्त्य भएको छ ।’

आफु अर्थमन्त्री भएर आएसँगै कोषलाई थप बलियो बनाउन ५ अर्ब चुक्ता पूँजी थप गरेको जानकारी दिँदै चालू आबभित्रै १० अर्ब चुक्ता पूँजी बनाईने समेत उनले जानकारी दिए । ‘जोखिमपूर्ण कर्जाको सुरक्षण वा बीमा गराउनुपर्छ भन्ने उद्देश्यले स्थापना भएको यो कोषले अहिले निक्षेपको समेत सुरक्षण दिएर निक्षेपकर्तालाई ढुक्कसँग बस्न मिल्ने वातावरण बनाएको छ,’ उनले भने, ‘यो कोषको स्थापना भएर शसक्त भएर आएँसगै बैंकहरु समस्यामा पर्न छाड्नुका साथै निक्षेप कर्ताको आत्मबल बढाएको छ ।’

जोखिम व्यवस्था गर्न नसक्ने र जोखिमको सुचना प्राप्त गर्न नसक्ने निक्षेप कर्ताको निक्षेपको बीमा गर्न आफु गभर्नर हुँदा सुरुवात गरेको स्मरण गराउँदै अहिले त्यसले राम्रो सन्देश दिएको बताए । २ लाख रुपैयाँसम्मको अनिवार्य निक्षेप बीमा गर्न सुरु गरेसँगै कुनै अखबार तथा मिडियाहरुमा ठूलठूला अक्षरमा बैंक जोखिममा पर्यो भनेर समाचार आएपनि निक्षेप झिक्न जानेको लाईन नलागेको उनको भनाई थियो ।

निक्षेप बीमा तथा कर्जा सुरक्षणको सुरुवात गरेसँगै नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामै सबैभन्दा सुदृढ र उत्कृष्ट भएको समेत उनको दावी थियो । ‘निष्कृय कर्जा घटाउने, बैंकहरुको कारोबारको पारदर्शी बनाउने, बैंकहरुको क्षमता बढाउने, कारोबार बढाउनेजस्ता विषयले बैंकिङ प्रणाली विस्वस्थ्य हुँदै आएको छ,’ उनले भने, ‘त्यसैले गर्दा अहिले विदेशी बैंक तथा संस्थाहरुले पनि पत्याएर नेपाली बैंकहरुलाई ऋण दिन थालेका छन् ।’ देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास बढ्ने र त्यसले नेपालको बैंकिङ प्रणालीलाई नै थप मजबुद बनाउने उनको दावी थियो ।

अहिले निक्षेप बीमाको रकम बढ्दै गएको र सोही अनुरुप बीमा दायित्व पनि बढेको हुँदा कोषको जिम्मेवारी थप बढेको उनको भनाई थियो । अहिले प्रिमियम राम्रो संकलन र जोखिम कम भएकाले कोषको नाफा २ अर्ब माथी भएको जानकारी दिँदै यस्ता खालको जोखिम माथीको नाफालाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए । अबका दिनका कोषका साथै व्यवस्थापनलाई पनि बलियो र चुस्त दुरुस्त बनाउँदै लैजान सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL