Logo

मौद्रिक नीति निर्माणमा जुट्यो राष्ट्र बैंक, अटो र घरजग्गामा प्रबाह गरिने कर्जामा कडाई

मौद्रिक नीति निर्माणमा जुट्यो राष्ट्र बैंक, अटो र घरजग्गामा प्रबाह गरिने कर्जामा कडाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दिनमा बढि आयात हुने विलासिताका बस्तुमा कडाई गर्ने नीति अबलम्वन गर्ने भएको छ । पछिलल्लो समय देशको भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पमेण्ट) दिनानुदिन घाटामा गएपछि बढि आयात हुने विलासिताका बस्तुमा कडाई गर्न लागेको हो ।

पछिल्लो समय आयात अत्याधिक रुपमा बढेसँगै देशको भुक्तानी सन्तुलन घाटमा जानुका साथै त्यसले रिजर्भमा समेत असर गर्न थालेको छ । अबका दिनमा विदेशी मुद्रा संचितीमा असर नगरोस भन्ने उद्देश्य अनुरुप विलासिताका बस्तुहरु लक्जरी मोटर तथा अनावश्यक महङ्गा बस्तु आयातमा कडाई गर्ने नीति अबलम्ब गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विगत २/३ महिना देखिनै देशको भुक्तानी सन्तुलन लगातार घाटामा गएसँगै राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागि बनाउने मौद्रिक नीतिमा अलि कडाई गर्न सुझाव दिइएको नेपाल राष्ट्र बैंकका कार्यकारी दिर्नेशक तथा अनुसन्धान विभाग प्रमुख नरबहादूर थापाले बताए । ‘अहिले बैंकले जतिसक्दो कर्जा प्रवाह गर्न जोखिरहेका छन् भने उद्योगी व्यवसायीले पनि अत्याधिक कर्जा चाहियो भन्दै माग गरिरहेका छन्,’ उनले भने, ‘तर, राष्ट्र बैंकको काम सिमित व्यक्तिलाई मात्र हेरेर नीति बनाउने होइन समग्र देश र जनतालाई मध्यनजर गर्दै नीति बनाउने भएकाले कडाई गर्न सुझाव दिएका हौं ।’

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको तुलनामा कर्जा विस्तार एकदमै बढि छ । जुन राष्ट्र बैंकको नीतिभन्दा बाहिर रहेको र त्यसले आगामी दिनमा जोखिम निम्त्याउन सक्ने समेत आगामी दिनमा कर्जा विस्तारमा कडाई गर्न लागिएको समेत थापाले जानकारी दिए । ‘पछिल्लो समय अटो तथा अन्य अनावश्यक क्षेत्रमा बढि कर्जा प्रवाह भएको देखिएको छ,’ उनले भने, ‘आगामी दिनमा आउने मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नेछ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गर्दै वाह्य क्षेत्रतर्पm, आयातमा भएको उच्च विस्तारका कारण वस्तु व्यापार घाटा थप फराकिलो भएको र जसको फलस्वरुप, शोधनान्तर स्थिति घाटामा गएकोले बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने जोखिमप्रति सजग रहँदै मौद्रिक व्यवस्थापन गर्न सुझाव दिएको छ ।

यसका अतिरिक्त बाह्य क्षेत्रमा देखिएको दबाब समेतलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापन गर्नुपर्ने औल्याएको छ । पछिल्लो समय बैंक वित्तीय क्षेत्रले खास क्षेत्र खुलाएर भन्दा पनि अनावश्यक क्षेत्रमा बढि कर्जा प्रवाह गरेका पाईएपछि राष्ट्र बैंकले त्यसलाई कडाई गर्ने नीति अबलम्बन गर्न लागेको हो । विशेषगरी अटो कर्जा, घरजग्गा तथा सेयरमा प्रवाह हुने कर्जालाई बढि बडाई गर्न लागिएको समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गरिरहँदा आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको लागि समेत गृहकार्यमा जुटेको छ । आगामी दिनमा आउने मौद्रिक नीतिले अहिले देखिएका समस्यालाई समेत सम्बोधन गर्ने थापाले जानकारी दिए । ‘ अघि लचिलो मौद्रिक नीति बनाएका कारण अहिले विश्व वित्त बजारमै केही समस्या आएको छ तसर्थ यस विकसित मुलुकले पनि कडाई गर्दै आएका छन्,’ उनले भने, ‘ लचिलो मौद्रिक नीति अवलम्बन गरेकोले मुद्रास्फीतिमा चाप पर्न गई आगामी दिनमा कसिलो वित्तीय अवस्था सृजना हुन जाने अन्तरराष्ट्रिय मुद्रा कोषको आँकलन छ सोही अनुरुप नेपालले पनि कसिलो मौद्रिक नीति बनाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL