Logo

बुधबारदेखि नयाँ नोट वितरण

बुधबारदेखि नयाँ नोट वितरण



काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैंका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म ४० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् ।

पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले प्रतिव्यक्ति ५, १० र २० रुपैयाँ का दुई÷दुई प्याकेट र ५० र १०० दरका एक/एक प्याकेट गरी २२ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराइने बताए ।

विभिन्न बैंक तथा वित्तीय संस्था एवं सरकारी कार्यालयका लागि भने केही दिनपछिबाट मात्र ती संस्थाको मागअनुसार राष्ट्र बैंकले पटक÷पटक गरेर नयाँ तथा सफा नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष २० देखि २५ अर्बबराबरको नयाँ नोट र सोहीबराबरका सुकिला नोट गरी ४५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । सबै जिल्लामा पु¥याउनका लागि ठूलो परिमाणमा नयाँ नोट वितरण गर्नुपर्ने अवस्था आएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहोर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ । सबैभन्दा बढी प्रयोगमा आउने रु पाँच, १०, २० का नोटको आयु एक वर्षमात्र हुने भएकाले सुरक्षित प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी ५०, सय, ५ सय र एक हजारको दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले कम फोहोर हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL