Logo

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर, राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर, राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार



काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच शुक्रबार सम्झौता भएको छ । दुबै बैंकका अध्यक्षहरुले मर्जर सम्बन्धी सम्झौतापत्रमा अन्तिम हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । दुवै बैंकको वार्षिक साधारण सभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुनेछ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी दुई बैंकबीच सम्झौता गरेको बताएका छन ।

ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यस अघि ग्लोबलले १० ओटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ ओटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्जर भएको जानकारी दिएका छन ।

सोही अवसरमा जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए । उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने समेत जानकारी दिएका छन ।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक रहने छ भने अध्यक्षमा ढकाल रहने सहमति समेत गरिसकेको छ । साथै सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी अधिकृत (सीईओ) मा परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ । संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ पुग्नेछ भने कुल निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी र कुल कर्जा लगानी २ खर्ब रुपैयाँ पुग्नेछ ।

त्यस्तै बैंकको शाखा तथा केन्द्र भने ८ सय ५० भन्दा बढी हुने बैंकले जनाएको छ । बैंकका ३ सय भन्दा बढी शाखा २ सय ५६ एटीएम, २४१ शाखा रहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL