Logo

दशैंका लागि नयाँ नोट असोज १० गते देखि उपलब्ध, १ जनाले साढे १८ हजार मात्रै पाउने

दशैंका लागि नयाँ नोट असोज १० गते देखि उपलब्ध, १ जनाले साढे १८ हजार मात्रै पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उक्त नयाँ नोटहरु उपलब्ध हुने जानकारी दिएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साट्न पाइने उल्लेख छ । बैंकले पाँच, दश, २०, ५० र १०० रुपैयाँ दरका एक÷एक पकेट गरी प्रति व्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL