Logo

६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने कम्पनीलाई राष्ट्र बैंकको रोक, कारवाही गर्ने चेतावनी

६ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने कम्पनीलाई राष्ट्र बैंकको रोक, कारवाही गर्ने चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिईकनै न्युन ब्याजदरमा विभिन्न व्यवसायका लागि कर्जा दिने भारतीय कम्पनीलाई कर्जा प्रवाहमा रोक लगाएको छ । बैंकले शुक्रबार एक सुचना जारी गर्दै क्यासिनो, होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय संचालन गर्नका लागि टर्म लोन दिने भन्दै एक राष्ट्रिय पत्रिकामा विज्ञापन गर्ने मार्केटपर्स ग्लोबल कम्पनीलाई कर्जाप्रवाहमा रोक लगाएको हो ।

भारतीय कम्पनी मार्केटपर्सले गत बुधबार एक राष्ट्रिय दैनिकमा न्युनतम दरमा टर्म लोन दिने भन्दै विज्ञापन प्रकाशन गरेको थियो । सोही विज्ञापनको आधारमा राष्ट्र बैंकले स्विकृती नलिईकनै उक्त विज्ञापन खुलाएको भन्दै कम्पनीको कर्जा प्रवाहमा रोक लगाएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०७५ को दफा ७६ मा कुनै पनि कम्पनीले निक्षेप लिन वा कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनु पर्ने उल्लेख छ । तर उक्त कम्पनीले उक्त ऐन मिचेर विज्ञापन खुलाएको राष्ट्र बैंकले आरोप लगाएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ३१ बमोजिम बैंक तथा वित्तिय संस्था बाहेक अन्य कुनै कम्पनीले बैकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानुनी ब्यवस्था छ । साथै राष्ट्र बैंकले कुनै कम्पनीले त्यस्ता कानुन विपरीत काम गरे वा गराएमा कानुन बमोजिम कारवाहि गर्ने समेत उक्त सुचनामार्फत जानकारी दिएको छ ।

कम्पनीले क्यासीनो, होटल, रिसोर्ट, अस्पताल, स्कुल, कलेज, जस्ता ब्यवसाय गर्नको लागि ६ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL