Logo

मौद्रिक नीति निर्माणमा जुट्यो राष्ट्र बैंक, प्राथमिकतामा बिग मर्जर, असार अन्तिम साता सार्वजनिक

मौद्रिक नीति निर्माणमा जुट्यो राष्ट्र बैंक, प्राथमिकतामा बिग मर्जर, असार अन्तिम साता सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणमा जुटेको छ । बैंकले आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति निर्माणको लागि सुझाव पेश गर्न सार्वजनिक रुपमा सुचना प्रकाशित गर्दै मौद्रिक नीति निर्माणमा जुटेको हो ।

आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक, निजी क्षेत्र तथा सम्बद्ध सरोकारवालाहरुको सुझाव लिनका लागि सुचना प्रकाशित गरिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए । ‘हामीले आजदेखि राष्ट्र बैंक अनुसन्धान विभागको इमेल ठेगाना दिएर सुझाव संलन सुरु गरेका छौं,’ उनले भने, ‘सबै सरोकारवालासँग सुझाब संकलन गरी असार अन्तिम सम्ममा मौद्रिक नीति ल्याउनेछौं ।’

नेपाल राष्ट्र बैंकले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण गर्दछ । यस पटक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ‘विग मर्जर’ लाई प्राथमिकता दिने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई समेत प्रोत्साहन सहित बिग मर्जरमा लैजाने उल्लेख गरेको छ । सोही अनुरुप आगामी बर्षको मौद्रिक नीतिले पनि बिग मर्जर र विद्युतिय कारोबारलाई उच्च प्राथमिकता दिने भट्टले जानकारी दिए ।

राष्ट्र बैंकले चालू आर्थिक बर्षको ११ महिनाको तथ्याङक आएसँगै त्यसलाई विश्लेषण गरेर आगामी आबको मौद्रिक नीति तर्जुमा गर्नेछ । विशेष गरी सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, ६ प्रतिशतको मुद्रा स्फिती, बढ्दो व्यापार घाटा न्यूतिकरण, उच्च चालू खाता घाटा र बढ्दो भुक्तान सन्तुलनलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याईने समेत उनले जानकारी दिए ।

उनका अनुसार मौद्रिक नीतिले बजेट मार्फत घोषणा भएको सुन चाँदीजस्ता अमूल्य धातुलाई पनि कसरी निक्षेपको रुपमा लिने भन्ने विषयमा सम्बोधन गर्ने छ । नेपालमा सुन चाँदीजस्ता बहुमुल्य बस्तुलाई निक्षेपको रुपमा लिने व्यवस्था नौलो हो । तसर्थ त्यस्ता विषयलाई पनि मौद्रिक नीतिले संबोधन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL