Logo

सुध्रिदै सोधनान्तर स्थिती, मुद्रा सटहीमा अंकुश लगाउँदा विदेशी मुद्रा सञ्चिती बढ्यो

सुध्रिदै सोधनान्तर स्थिती, मुद्रा सटहीमा अंकुश लगाउँदा विदेशी मुद्रा सञ्चिती बढ्यो



काठमाडौं । चालू आर्थिक बर्षको ७ महिनामा आईपुग्दा सोधनान्तर स्थितीमा केही सुधार आएको छ । पुस मसान्तसम्म सोधनान्तर स्थिती ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेकोमा माघ मसान्तमा आईपुग्दा घटेर ४९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।

तर गत आबको सोही अबधिको तुलनामा भने सोधनान्तर घाटा बढेको छ । गत बर्षको सोही अबधिमा सोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ मात्र रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब ६६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

विदेशी विनिमय सञ्चिती २०७५ असार मसान्तमा ११ अर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ माघ मसान्तमा १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

तर, अघिल्लो महिनाको तुलनामा विदेशी मुद्रा सञ्चितीमा भने केही सुधार आएको छ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली तथा वैदेशिक रोजगारीमा जाने कामदार र सामान आयात गर्न विदेशी मुद्रा सटहीको सिमा घटाएसँगै विदेशी मुद्रा सञ्चिती बढ्न पुगेको हो । पुस मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १० खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म आईपुग्दा बढेर १० अर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ माघ मसान्तमा घटेर ९ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ माघ मसान्तमा १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । २०७५ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव २ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५ दशमलव ९ प्रतिशत, ६६ दशमलव ९ प्रतिशत र ३२ दशमलव ४ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६ दशमलव ७ प्रतिशत, ७८ दशमलव ६ प्रतिशत र ३५ दशमलव ६ प्रतिशत रहेका थिए ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ रुपैयाँ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL