Logo

अर्थमन्त्रीले भने, ‘अब व्यवसायीले ६/७ प्रतिशत ब्याजमा ऋण पाउँछु भन्ने आश नगरे हुन्छ’

अर्थमन्त्रीले भने, ‘अब व्यवसायीले ६/७ प्रतिशत ब्याजमा ऋण पाउँछु भन्ने आश नगरे हुन्छ’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा उद्योगी व्यवसायीलाई ६/७ प्रतिशत ब्याजदरमा ऋण लिएर व्यवसाय चलाउने सोच नराख्न आग्रह गरेका छन् ।

laxmi

‘यदि बैंकले ६ देखि ७ प्रतिशतमा कर्जा प्रबाह गर्ने हो भने निक्षेप कर्तालाई कति ब्याज दिने ?,’ बजेटको अर्धबार्षिक समीक्षामा उनले भने, ‘उदाहरणका लागि अर्को बर्ष स्प्रडदर ४ प्रतिशतमा झार्ने हो भने पनि ७ प्रतिशतमा बैंकले लगानी गर्दा निक्षेपकर्तालाई ३ प्रतिशत ब्याज दिनुपर्यो । अनि नेपालको मुद्रास्फिती ५ प्रतिशतमै रहयो भने पनि बचतकर्ताले २ प्रतिशत गुमाउन पुग्छन् ।’ तसर्थ यो मुलुकमा अब बैंकले ६÷७ प्रतिशतमा ब्याजमा ऋण दिन्छ र गाडी किनौला, व्यापार व्यवसाय गरौला भन्ने नसोचेपनि हुने उनको भनाई थियो ।

यदि हामीले बैंकबाट ७ प्रतिशतमा कर्जा खोज्छौं भने निक्षेप संकलन भएन भनेर कराउनुको कुनै अर्थ नरहने समेत अर्थमन्त्रीले जानकारी दिए । ‘हामी अहिले पनि लगानी गर्ने पैसा भएन बैंकमा बचत भएन कराईरहेका छौं,’ उनले भने, ‘अनि हामी नै ६/७ प्रतिशत ब्याजदरमा कर्जा खोज्छौं भने कसले बचत गरिदिन्छ र बैंकले लगानी गर्छ ।’

बैंक ब्याजदर कसैले चाहँदैमा तोक्न नसकिने समेत उनले जानकारी दिएका छन् । ‘व्यवसायले पनि प्रतिफल दिन पर्यो अनि बैंकले पनि निश्चित नाफा कमाउनु पर्यो तर त्यसको बाटो के हो ?,’ उनले भने, ‘भन्नलाई सजिलो छ तर काम गर्न गाह्रो छ ।’

केही समय अघि ब्याजदर अस्वभाविक रुपमा बढ्यो त्यसमा केही हदसम्म हस्तक्षेप पनि गरियो । तर, ब्याजदर असाधारण रुपमा तल झर्दा कसैले पनि चिन्ता गरेनन् त्यतिवेला चिन्ता गर्ने व्यक्ति म एक्लो थिए ।

कुनै समय बैंकले ७ प्रतिशत ब्याजदरमा लगानी बैंकले लगानी गर्दा चासो दिने कोही नभएको भन्दै अहिले केही ब्याज बढ्दै अतालिनु नपर्ने उनको तर्क थियो ।

पछिल्लो समय ४÷५ बर्ष पहिला ७ प्रतिशत लिएको कर्जाको ब्याज अहिले १५/१६ प्रतिशत पुग्यो भनेर व्यवसायीहरुले आवाज उठाएको र कतिपय कुरा त्यसमा नमिल्ने समेत उनको तर्क थियो । ‘यसरी कर्जामा ब्याज बढ्न नदिनका लागि व्यवसायीक स्वतन्त्रता चाहिन्छ भने सोही अनुरुप बजारका सिद्धान्त पनि पालना गर्नुपर्छ,’ उनले भने, ‘तर, हामीले अस्वस्थ्य प्रतिस्पर्धामा गई सडकको पहेलो लाईन छाडेर नालीमा खस्न लागेको नेपालको बैंकिङ प्रणालीमा सडकको केन्द्रमा आउनुस भनेर सुझाव दिएका छौं सुध्रनै जिम्मा उहाँहरुकै हातमा छ ।’

पछिल्लो समय सामान्य रुपमा ब्याजदर समेत क्रमश घट्दै गएको र आगामी दिनमा आउने तथ्याङ्कले पुष्टी गर्ने उनको तर्क थियो । ‘यदि राष्ट्र बैंकले चासो नदेखाएको भए निक्षेपको औषत ब्याजदर नै १२ प्रतिशतभन्दा माथी पुग्थ्यो,’ उनले भने, ‘तर, अहिले घटेर १० प्रतिशतभन्दा तल छ यो विस्तारै सध्रन्छ ।’

देशमा आर्थिक क्रियाकलाप सरस्त भइरहेको समयमा किन कर्जाको उच्च माग भइरहेको छ भन्ने विषयमा पनि सुक्ष्म तरिकाबाट अध्ययन गर्नुपर्ने उनको भनाई थियो । ‘हामीलाई ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धि गर्नु छ जसका लागि सोही अनुरुप सामान आयात गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सबैभन्दा सस्तो ब्याजदरमा भनेजति बैंक कर्जा दिनुपर्न भन्ने कतै पनि हुँदैन ।’

अर्थशास्त्रको सिद्धान्त अनुसार बजारमा ब्याजदर, विनिमयदर र मुद्रास्फिती हुन्छ । तर यी तिनवटै क्षेत्रलाई एकैपटक नियन्त्रण गर्न नसकिने उनको तर्क थियो । ‘तीनमध्ये कुनै एकलाई बजारमा खुला रुपमा छाडनुपर्छ जुन अर्थशास्त्रको सर्वमान्य सिद्धान्त हो,’ उनले भने, ‘म पनि त्यहि सिद्धान्त अनुसार चल्नु पर्छ यदि तीन वटै क्षेत्रमा हस्तक्षेप गर्न खोज्यो भने फेरी त्यो बजार अर्थतन्त्र रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL