Logo

बैंकले लिने ब्याजदरमा हस्तक्षेप गर्न प्रधानमन्त्रीको निर्देशन, होला त व्यवसायीको माग पुरा

बैंकले लिने ब्याजदरमा हस्तक्षेप गर्न प्रधानमन्त्रीको निर्देशन, होला त व्यवसायीको माग पुरा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदरमा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा व्यवसायीका गुनासा सुनेपछि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले लिने ब्याजदरमा समेत हस्तक्षेप गर्न अर्थमन्त्री, गभर्नर तथा बीमा समितिलाई निर्देशन दिएका हुन् ।

laxmi

बैंक तथा वित्तीय संस्थाले बढी व्याजदर लिएको भन्दै लामो समयदेखि पूर्वका व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर तथा नेपाल उद्योग परिसंघ लगायतका संस्थाले पनि यसमा समर्थन जनाएका थिए भने महासंघले विज्ञप्ती निकालेरै १५ दिनभित्र घटाउन अल्टिमेटम दिएको थियो ।

सोही विषयलाई सम्बोधन गर्न आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि सम्बद्ध व्यवसायीहरुलाई बोलाईएको थियो । व्यवसायीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै आगामी हप्ताभित्र व्यवसायीका माग सम्बोधन हुनेगरी ब्याजदरमा हस्तक्षेप गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी र बैंकर दुई हात भएको भन्दै ब्याजदरको समस्या आफै समाधान गर्न आग्रह गरेका थिए । तर, आज भएको प्रधानमन्त्रीको निर्देशनले बजारमा देखिएको उच्च ब्याजदरको समस्या समाधान गर्न अर्थमन्त्री डा. खतिवडालाई नैतिक संकट पर्ने भएको छ ।

आज भएको प्रधानमन्त्रीसँगको छलफलमा आन्दोलनमा उत्रिएका पूर्वका उद्योगी व्यापारी तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ ३ वटै संस्थाको प्रतिनिधित्व रहेको थियो ।

प्रधानमन्त्री ओलीले व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री, गभर्नर तथा सम्बद्ध निकायका उच्च पदस्थ कर्मचारीलाई समेत बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL