Logo

सवारी कर्जामा राष्ट्र बैंकको अंकुश, ६५ बाट ५० प्रतिशतमा झर्यो

सवारी कर्जामा राष्ट्र बैंकको अंकुश, ६५ बाट ५० प्रतिशतमा झर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै अबका दिनमा ५० प्रतिशतमात्र सवारीकर्जा दिन पाउने व्यवस्था गर्दै कडाई गरेको हो ।

पछिल्लो समय सवारी आयात उच्च बढेसँगै राष्ट्र बैंकले सवारी कर्जाको सिमामा कडाई गरेको हो । अबका दिनमा बैंक वित्त संस्थाले कुनै पनि सवारीसाधनको मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा दिन नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जाको सिमालाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको थियो । तर, त्यसको ३ महिनामै पुनः ५० प्रतिशतमा झारेको छ ।

केही सयमअघि मात्र राष्ट्र बैंकले लक्जरी सवारीसाधन आयातमा कडाई गर्ने विषयमा छलफल चलाएको थियो । तर, त्यसको केही समयभित्रै सवारीकर्जाको सिमा घटाएको हो ।

पछिल्लो समय उच्च व्यापार घाटा र त्यसमा सवारीसाधनको हिस्सा बढी हुँदै गएपछि सरकारले आयात घटाउने विषयमा छलफल चलाएको थियो । सोही अनुरुप पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएको सवारीकर्जाको सिमामा अंकुश लगाएको छ ।

चालू आर्थिक बर्षको पहिलो ३ महिनामा कुल ५४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सवारीसाधन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL