Logo

देशको सोधनान्तर स्थितीमा झड्का, खुम्चियो प्रत्यक्ष वैदेशिक लगानी

देशको सोधनान्तर स्थितीमा झड्का, खुम्चियो प्रत्यक्ष वैदेशिक लगानी



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो महिनामै देशको सोधनान्तर घाटा उच्च रुपमा बढ्न पुगेको छ ।

अघिल्लो वर्षको पहिलो महिनामा ३ अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिती चालू आबको सोही अबधिमा आईपुग्दा उच्च रुपमा बढ्दै २४ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

यसैगरी समीक्षा अवधिमा चालू खाता घाटा बढ्न गईं २५ अर्ब ३८ करोड पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो ।

सो अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएको छ । गत आबको साउन महिनामा ४ अर्ब ६१ करोड वैदेशिक लगानी भित्रिएकोमा चालू आबको साउनमा जम्मा २९ करोड ५७ लाख रुपैयाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यसैगरी गत बर्षको सो अबधिमा पूँजीगत ट्रान्सफर ६७ करोड ४७ लाख रुपैयाँ मात्र रहेको थियो ।

यसैगरी समिक्षा अवधिमा विदेशी विनिमय सञ्चितीमा पनि गिरावट आएको छ । २०७५ असार महिनामा कुल विदेशी विनिमय सञ्चिती ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा साउनमा आईपुग्दा शुन्य दशमलव ९ प्रतिशतले गिरावट आई १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७५ साउन मसान्तसम्म आईपुग्दा २ दशमलव ४ प्रतिशतले कमी आई ९ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

यसैगरी नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुमा भएको विदेशी विनिमय संञ्चिती भने बृद्धि भएको छ । २०७५ असार मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । तर, २०७५ साउन मसान्तमा आईपुग्दा १२.७ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

२०७५ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL