Logo

नेपालीलाई अमेरिकामा बैंक संचालन गर्न अनुमति, संचालनमा आयो इएफसियू बैंक

नेपालीलाई अमेरिकामा बैंक संचालन गर्न अनुमति, संचालनमा आयो इएफसियू बैंक



काठमाडौं । अमेरिकामा बसोबास गरेका नेपालीले स्थापना गरेको बैंकलाई त्यहाँको सरकारले संचालनका लागि अनुमति दिएको छ ।

नेपालीले संचालनमा ल्याएको ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो ।

बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गर्ने लक्ष्य राखेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुमति पाएसंगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । संस्थाको प्रवद्र्धनका लागि शनिबार न्युयोर्कको ज्याक्सन हाइटमा समुदायलक्षित उद्घाटन समारोह आयोजना गरिँदैछ ।

उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरु, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने बैंकले जानकारी दिएको छ ।

युनियनका संस्थापक सदस्यहरुले तीन वर्षदेखि जटिल कानूनी प्रक्रिया पुरा गरी सञ्चालनको अनुमती पाएका हुन् ।

आवश्यक कागजात, सर्वेक्षण, ब्यापार योजना, वित्तीय योजना, बजार योजना, संस्था सञ्चालनको बिधान र नीति नियमका विषयमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआइ) संग बिभिन्न चरणको छलफल पछि क्रेडिट युनियन सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

लाखौं डलर खर्चका साथै स्वयंसेवीहरुको अथक प्रयासपछि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरुको सर्वोच्च निकाय संघीय सरकारअन्र्तगत रहेको एनसीयूए सँग सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको हो ।

संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अन्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ ।
समुदायको आर्थिक हित र प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवं कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बंैकहरुलाई कर छुट दिने भएकाले अन्य बैंकका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैंकको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरु नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।

संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिङ एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने बिशेष एकाउण्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगत सुरक्षा र असुरक्षा ऋणजस्ता सुविधा पाउनेछन् ।
साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना ब्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैंकिङ सुविधाहरु पनि संचालनमा ल्याउने लक्ष्य राखिएको छ । क्रेडिट युनियनको सदस्यहरुले मात्र यी सबै सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL