Logo

मौद्रिक नीति असार चौथो सातामात्रै, गभर्नर्स मिटिङले धकेलियो पछाडि

मौद्रिक नीति असार चौथो सातामात्रै, गभर्नर्स मिटिङले धकेलियो पछाडि



काठमाडौं । नेपाल राष्ट्र बैंकले असार पहिलो साता ल्याउने भनेको आगामी आर्थिक बर्षको मौद्रिक नीति पर धकेलिएको छ । भोलिदेखि हुने सार्कस्तरीय गभर्नर्स बैंठक र त्यसको तयारीले गर्दा मौद्रिक नीति ल्याउन ढिलाई भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले यसै हप्ता मौद्रिक नीति ल्याउन भनेपनि बुधबारदेखि हुने गभर्नर्स मिटिङ र त्यसको तयारीका कारण ढिलाई भएको हो । भोली देखि सुरु हुने सार्क स्तरीय गभर्नर मिटिङ हायत होटलमा हुँदै छ भने त्यसको आयोजक नेपाल राष्ट्र बैंक नै हो । गभर्नर मिटिङको आन्तरिक तयारी र मौद्रिक नीतिको सम्बन्धमा पनि अन्य छलफल बाँकी रहेकाले केही ढिलाई हुन गएको पौडेल बताउँछन् ।

राष्ट्र बैंकले असारको २०÷२२ गते पछाडि मौद्रिक नीति ल्याउने गरी तयारी गरेको समेत पौडेले जानकारी दिए । ‘भोलीदेखि ३ दिनसम्म हायत होटलमा सार्क स्तरीय गभर्नर मिटिङ छ,’ उनले भने, ‘त्यो सकिए लगत्तै मौद्रिक नीति ल्याउने तयारीमा जुट्नेछौं ।’

यसैगरी राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादूर थापा पनि आर्थिक बर्ष २०७५/७६ को मौद्रिक नीतिको खाका तयार परी पठाइएको त्यसमा मुख्य मुख्य बुँदा भर्न बाँकी रहेको बताउँछन् । ‘हाम्रो तर्फबाट आगामी मौद्रिक नीतिको पृष्ठभुमिदेखि सम्पूर्ण खाता तयार परेर पठाएका छौं,’ उनले भने, ‘अब राष्ट्र बैंक संचालक समितिले आगामी दिनमा ल्याउने नीतिको बारेमा बैंठक बसेर भर्न बाँकी छ ।’

विशेषगरी आगामी आबको मौद्रिक नीतिले हाल रहेको नगद मौज्जाद अनुपात (सीआरआर)लाई घटाउने तयारी गरेको छ भने उत्पादनमुलक क्षेत्रमा भएको कुल लगानीको ५० प्रतिशत हिस्सालाई निक्षेपमा गणना गरी लगानी गर्न दिने व्यवस्था गर्न लागेको । यसैगरी पुर्नकर्जाको हिस्सालाई पनि बढाउने तयारी गरेको उक्त स्रोतको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL