Logo

बैंक संचालकलाई गभर्नरको चेतावनी, ‘पैसा कमाउन मन भए बैंकिङ क्षेत्रबाट बारिहिनुस, मैले कारबाही गर्न नपरोस’

बैंक संचालकलाई गभर्नरको चेतावनी, ‘पैसा कमाउन मन भए बैंकिङ क्षेत्रबाट बारिहिनुस, मैले कारबाही गर्न नपरोस’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई पदको दुरुपयोग नगर्न निर्देशन दिएका छन् । ‘बैंक वित्तीय संस्थामा बसेर पैसा कमाउने होइन देशको आर्थिक विकासमा सहयोग गर्ने हो,’ मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, ‘यदि तपाईहरुलाई करोडपति, अरबपति बन्न मन छ भने बैंक वित्तीय संस्थामा बस्ने होइन बाहिर गएर व्यक्तिगत कम्पनी खोलेर काम गर्नुस अनि पैसा कमाउनुस ।’

बैंक वित्तीय संस्थामा सर्वसाधारणको पैसा रहेको र त्यसलाई दुरुपयोग नगर्न समेत उनले चेतावनी दिए । ‘पछिल्लो समय संचालकहरुले बढि नाफा आर्जन गर्ने लोभमा जथाभावी कर्जा प्रवाह गर्न बैंक व्यवस्थापनलाई दबाब दिन थालेको गुनासो आएको छ,’ उनले भने, ‘यदि कसैले त्यस्तो गरेको खण्डमा राष्ट्र बैंकले छानविन गरी कारबाहीको दायरामा ल्याउनेछ ।’ साथै बैंक संचालनको जिम्मा व्यवस्थापनलाई छाडेर उनीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाईदिन समेत बैंक संचालकलाई निर्देशन दिएका छन् ।

यसैगरी अहिले पनि कतिपय बैंक वित्तीय संस्थाको व्यवस्थापन नै संचालकले सम्हाल्ने गरेको गुनासो आईरहेको जानकारी दिँदै त्यस्ता संचालक वा अध्यक्षलाई तत्काल सच्चिन निर्देशन दिएका छन् । ‘बैंकको संचालन गर्ने काम व्यवस्थापनको हो,’ उनले भने, ‘यदि सबै काम संचालन समितिले नै गर्ने हो भने लाखौ रुपैयाँ खर्च गरेर उच्च शिक्षा हासिल गरेका कर्मचारी किन राख्ने ?’

पछिल्लो समय बैंक संचालकले बढि नाफा खोज्नका लागि जथाभावी कर्जा विस्तारको दबाब दिँदै प्रमुख कार्यकारी अधिकृत (सिईओ) निश्काशन गर्ने प्रचलन हावी भएको जानकारी दिँदै आगामी दिनमा संचालनको दबाबमा काम गर्न सिईओहरुलाई दिर्नेशन समेत दिएका छन् । ‘बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो प्रतिफल दिने ठाउँ होइन,’ उनले भने, ‘मैले यस अघि पनि भनेको थिए धेरै साथीहरुले मान्नु भएको छैन अब फेरी पनि यही कुरा दोहोर्याउँदै छु यदि नमानेमा तत्काल कारबाहीको दायरामा ल्याउनेछु ।’

उनले बैंक संचालकलाई करोडौं वा अर्बो रुपैयाँ कमाउन मन भए व्यक्तिगत पेशा वा व्यवसाय गर्न दिर्नेशन दिँदै जनताको पैसामा आखा नलगाउन समेत आग्रह गरे । ‘अहिले धेरै बैंक वित्तीय संस्थाले जनताबाट संकल गरेको निक्षेपलाई आफ्नै ढुकुटीको सम्पति जसरी जथाभावी खर्च गर्दै आएका छन्,’ उनले भने, ‘जसको उदाहरण स्वरुप निक्षेप संकलन भन्दा कर्जा प्रबाह बढि भइरहेको छ ।’ आगामी दिन जथाभावी रुपमा प्रवाह गरिएको कर्जाको छानविन गरी कारबाहीको दायरामा ल्याइने समेत उनको दावी थियो । ‘यदि कुनै बैंक वित्तीय संस्थाले बदमासी गर्न खोजेमा त्यहाँ नियामकको आँखा पुगिहाल्छ,’ उनले भने, ‘गतल काम गर्ने व्यक्ति २/४ दिन वा २/४ महिना उम्केलान तर कालन्तरमा जसरी भएपनि कानुनी दायरामा ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL