Logo

बाणिज्य बैंकले भारुमा पनि ऋण ल्याउन पाउने, सस्तो व्याजमा कर्जा पाईने

बाणिज्य बैंकले भारुमा पनि ऋण ल्याउन पाउने, सस्तो व्याजमा कर्जा पाईने



काठमाडौं । बाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु)मा पनि विदेशी लगानी भित्र्याउने सक्ने भएका छन् । केही समयअघि नेपाल राष्ट्र बैंले ‘क’ बर्गका बैंकहरुलाई विदेशी बैंक तथा संस्थाबाट प्राथमिक पूँजीको २५ प्रतिशतसम्म निक्षेप ल्याएर लगानी गर्न स्वीकृति दिएको थियो । तर, डरलमा मात्र ल्याउँदा महङ्गो पर्न जानेभएपछि भारुमा पनि ल्याउन स्वीकृति दिएको अर्थमन्त्री डा. युवराज खतिवाडाले जानकारी दिए ।

यदि बैंकहरुले चाहेको खण्डमा भारुमा पनि निक्षेप ल्याएर परिचालन गर्न सकने उनको तर्क थियो । ‘मैले यस अघि एसबीआई र एभरेष्ट बैंकलाई पूँजी ल्याएर नेपालमा लगानी गर्न अनुरोध गरिसकेको छु,’ नेपाल व्यवस्थापन संघको पूर्व बजेट छलफलमा उनले भने, ‘यदि अन्य बैंक वित्तीय संस्थाले पनि चाहेको खण्डमा भारुमा विदेशी पूँजी ल्याएर दिर्घकालिन लगानी गर्न सक्नेछन् ।’ नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले बैंकहरुलाई विनिमयदरको जोखिम पनि नहुने उनको तर्क थियो ।

यदि नीतिगत रुपमा समस्या भएका त्यसलाई समाधान गर्न आफुले राष्ट्र बैंकलाई सुझाव दिने समेत उनले बताए । ‘अहिले भारुमा दिर्घकालिन निक्षेप ल्याउन कुनै समस्या छ जस्तो लाग्दैन,’ उनले भने, ‘यदि रहेछ भने पनि तत्काल समस्या समाधान गरी नयाँ नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिनेछु ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले हालको व्यवस्था अनुसार डरलमा मात्र निक्षेप ल्याउन पाइने भएकाले लागत बढि पर्न गएको बताएका थिए । ‘अहिलेको व्यवस्था अनुसार विदशी बैंक वित्तीय संस्थाबाट निक्षेप ल्याएर लगानी गर्दा हेजिङ फण्ड वापत ठूलो रकम खर्च हुन्छ,’ उनले भने, ‘यदि भारुमा ल्याउने व्यवस्था भएमा ५ प्रतिशत लागत घट्ने छ ।’ भारुमा दिर्घकालिन निक्षेप ल्याउदा लागत कम पर्नुका साथै ब्याजदर समेत सस्तो पर्न आउने उनको तर्क थियो ।

केही समय अघि राष्ट्र बैंकले हाल संचालनमा रहेका २८ वटा बाणिज्य बैंकलाई विदेशी बैंक तथा संस्थाबाट निक्षेप ल्याएर जलविद्युत, कृषि, पर्यटन, रेल्वे तथा अन्य भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बाटो खुला गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL