Logo

बैंकर भन्छन्, ‘चुक्ता पूँजी बृद्धिको पैसा सकियो अब नयाँ कर्जा दिन सकिँदैन’

बैंकर भन्छन्, ‘चुक्ता पूँजी बृद्धिको पैसा सकियो अब नयाँ कर्जा दिन सकिँदैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबका दिनमा नयाँ कर्जा विस्तार सम्भव नभएको बताएका छन् । केही समयअघिसम्म निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको बृद्धिदर उच्च भएपनि अबका दिनमा घट्ने बैंकहरु बताउँछन् ।

हाल सबै बैंकहरुको सीसीडी रेसियो उच्च भइसकेको र नयाँ निक्षेप नबढेकाले कर्जा विस्तार असम्भव भएको बैंकरहरु बताउँछन् । ‘यस अघि बैंक वित्तीय संस्थाको चुक्ता पूँजी बढेका कारण सोही अनुरुप कर्जा प्रवाह पनि बढेको थियो,’ सनसाइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, ‘अब बैंकहरुसँग त्यो पैसा पनि सकियो कर्जा विस्तार सम्भव छैन ।’ हाल कर्जा विस्तार १७ प्रतिशतले बढेकोमा अबका दिनमा ५ प्रतिशले पनि बढ्न कठिन हुने उनको दाबी थियो ।

राष्ट्र बैंकको पूँजी बृद्धि योजनासँगै २ अर्ब रुपैयाँ चुक्ता पूँजी भएका बाणिज्य बैंकले ८ अर्ब रुपैयाँ पुर्याएका छन् । त्यसमा लगानीकर्ताहरुले लगानी गरेको हकप्रद तथा बोनस सेयरले गर्दा यसअघि कर्जा विस्तारमा सहज भएको थियो । यस्तै राष्ट्रिय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीले पनि पूँजी बृद्धि गर्दै क्रमश २ अर्ब ५० करोड रुपैयाँ र ८० करोड रुपैयाँ पुर्याएका छन् । पूँजी बृद्धिले गर्दा लगानीकर्ताले हकप्रद र बोनस सेयर गरी १ अर्ब रुपैयाँभन्दा बढी रकम बजारमा आएकाले यस अघि कर्जा विस्तार उच्च रुपमा बढेको बज्राचार्य बताउँछन् ।

यस्तै पछिल्लो समय राष्ट्र बैंकले बाणिज्य बैंकलाई अनिवार्य रुपमा स्थानीय तहमा जान दवाव दिएकाले पनि कर्जाको माग गरेको बैंकरहरु बताउँछन् । ‘राष्ट्र बैंकको नीति अनुसार बैंकहरु ग्रामिण भेगमा गएका छन्,’ एक बैंकरले भने, ‘त्यस्ता ठाउँमा कर्जाको माग उच्च छ तर निक्षेप संकलन छ्रैन ।’ पछिल्लो समय साना तथा मझौला उद्योगका लागि ग्रामिण क्षेत्रबाट कर्जाको माग उच्च भएको समेत उनको भनाइ थियो ।
पछिल्लो समय तरलताको मुख्य स्रोत वैदेशिक रोजगारीबाट भित्र्ने रेमिटेन्स घट्नु, सरकारले पूँजीगत खर्च गर्न सक्नुजस्ता कारणले गर्दा पनि बैंक वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव हुन पुगेको छ । यही अवस्था रहिरहने हो भने बजारमा लगानी योग्य रकमको अभाव लामो समयसम्म जाने बज्राचार्य बताउँछन् ।

यसैगरी नेपाल बैंकर एशोसिएशनका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना पनि अबका दिनमा कर्जा विस्तार बढ्ने बताउँछन् । ‘अहिले सबै बैंकको सीसीडी रेसियो ७८÷७९ प्रतिशतको हाराहारीमा छ,’ उनले भने, ‘अबका दिनमा निक्षेप नबढेसम्म नयाँ कर्जा विस्तार गर्न सकिँदैन ।’

यस अघि पूँजी बृद्धिबाट आएको रकमले गर्दा कर्जा विस्तारमा सहज भएपनि अबका दिनमा कठिन हुने उनको तर्क छ । पूँजी बृद्धिबाट आएको रकमका कारण बैंक वित्तीय संस्थाले उच्च रुपमा कर्जा विस्तार गरेका थिए । पछिल्लो समय यस अघि सम्झौता गरिएका कर्जालाई समेत रकम प्रदान गर्न कठिन भएको बैंकहरहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL