Logo

बैंकको कर्जा दुरुपयोग, पहुँचवालाले मात्र ऋण लिँदा ‘तरलता’मा हिट

बैंकको कर्जा दुरुपयोग, पहुँचवालाले मात्र ऋण लिँदा ‘तरलता’मा हिट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा दुरुपयोग भइरहेको जानकारी दिएको छ । बैंक वित्तीय संस्थाबाट प्रबाह भएका कर्जाहरु बास्तविक क्षेत्रमा लगानी नभई रियलस्टेट, सेयरलगायतका क्षेत्रमा लगानी गरेर दुरुपयोग गरिरहेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

विशेषगरी पहुँचवाला व्यक्तिले बैंकबाट आफ्नो स्वार्थ बाझिनेगरी कर्जा लिएर परिचालन गरिरहेकाले पनि बैंक वित्तीय संस्थामा लगानी योग्य पूँजी (तरलता) अभाव देखिएको हो । ‘अहिले बैंक वित्तीय संस्थाले देशलाई आर्थिक लाभ हुनेभन्दा पनि सिमित व्यक्तिलाई लाभ हुनेगरी कर्जा विस्तार गर्दै आएका छन्,’ उनले भने, ‘जसको कारण पछिल्लो समय कर्जा विस्तार द्वूत गतिमा भइरहेको छ ।’

राष्ट्र बैंकको नीति र बैंक वित्तीय संस्थाको कर्जा विस्तार गर्ने तरिका नै फरक भएको थापाले जानकारी दिए । ‘हाम्रो उद्देश्य कर्जा विस्तारभन्दा पनि गुणस्तरीय क्षेत्रमा कर्जा प्रबाह गरी देशलाई आर्थिक लाभ दिलाउनु हो,’ उनले भने, ‘तर बैंक वित्तीय क्षेत्रबाट प्रबाह भएका कर्जाले देशलाई लाभ हुने देखिँदैन ।’

अहिले निक्षेप संकलनको तुलनामा कर्जा विस्तार उच्च बढ्नुमा अनावश्यक कर्जा विस्तार नै भएको उनको तर्क थियो । ‘नेपालको जस्तो मुलुकमा साढे १७ प्रतिशतको कर्जा विस्तार एकमदै धेरै हो,’ उनले भने, ‘यस्ता खालको कर्जा विस्तार दिगो हुन सक्दैन ।’ साथै नेपालका बैंक वित्तीय संस्थाले १२ प्रतिशतभन्दा बढी कर्जा विस्तार गर्नु दिगो र राम्रो नहुने समेत उनको तर्क थियो ।

साथै बैंकले वित्तीय क्षेत्रलाई नै जोमिखमा पारेर कर्जा विस्तार गरिरहेको उनको आरोप थियो । बैंक वित्तीय संस्था यहि अवस्थामा हिड्ने हो भने राष्ट्र बैंकले बाध्य भएर अंकुश लगाउने पर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL