Logo

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जफत, लिलामी प्रक्रिया अघि बढाउँदै जनता बैंक

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जफत, लिलामी प्रक्रिया अघि बढाउँदै जनता बैंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएसँगै जनता बैंकले लिलामी प्रक्रिया अघि बढाउने भएको छ । न्यौपानेले आफु संचालक भएको अवस्थामा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भेटिएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै सेयर जफत भएको र अब उक्त सेयरको लिलामी प्रक्रिया अघि बढाइने जनता बैंकका प्रमख कार्यकारी अधिकृत परशुराम क्षेत्री कुँबरले जानकारी दिए । ‘राष्ट्र बैंकले दोषी ठहर गरी जफत गर्न निर्देशन दिएसँगै उक्त सेयर स्वतः जफत भइसक्यो,’ उनले भने, ‘उक्त सेयरलाई कसरी बिक्री गर्ने भन्ने विषयमा बोर्ड संचालक समितिले टुङ्गो लगाउनेछ ।’

राष्ट्र बैंकले तत्कालिक समयमा न्यौपानेको श्रीमतीको नाममा खरिद भएको सर्वसाधारण समूहको ५२ हजार ४ सय ७० कित्ता एवं त्यसबाट प्राप्त ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरसमेत जफत गर्न निर्देशन दिएको हो । हाल उनको नाममा बोनस र हकप्रद गरी कुल ८५ हजार कित्ता सेयर रहेको छ । न्यौपाने संचालक भएको अवस्थामा दोस्रो बजारमाबाट खरिद गरिएको सबै सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

अहिले जनता बैंकको साधारण सेयरको मूल्य २ सय ५१ रुपैयाँ छ । जस अनुसार न्यौपानेको २ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर जफत हुनेछ ।

राष्ट्र बैंकको निर्देशनमा जनता बैंकले न्यौपानेले श्रीमतीका नाममा सेयर खरीद गरेको सम्बन्धमा छानविन गर्न बैंक सञ्चालक नारायणप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । छानविनको क्रममा ५२ हजार ४ सय ७० कित्ता सेयर गुरु न्यौपाने संचालक भएको समयमा श्रीमतीको नाममा दोस्रो बजारबाट किनेको भेटिएपछि सोही अनुरुप बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको थियो । सोही आधारमा राष्ट्र बैंकले जफत गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL