Logo

बैंक संचालक र अध्यक्षको कार्यकाल हट्यो, एउटा संस्थाको प्रमुखलाई अर्को कुनैपनि संस्थामा बस्न रोक

बैंक संचालक र अध्यक्षको कार्यकाल हट्यो, एउटा संस्थाको प्रमुखलाई अर्को कुनैपनि संस्थामा बस्न रोक


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । नेपाल राष्ट्र बैैंकले बैंक संचालक र अध्यक्षको कार्यकाल हटाएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै उक्त व्यवस्था हटाएको हो । यस अघि राष्ट्र बैंकले कुनै पनि बैंक वित्तीय संस्थामा लगातार २ पटकभन्दा बढी निर्वाचित तथा मनोनित हुन नपाउने ब्यवस्था गरेको थियो । तर, बैंक वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ मा उक्त ब्यवस्था नरहेकाले एकिकृत निर्देशिकाबाट हटाइएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘बाफियामा प्रमुख कार्यकारी अधिकृत, कार्यकारी अध्यक्ष र प्रबन्ध संचालकको मात्र कार्यकाल तोकेको छ,’ उनले भने, ‘बाफिया अनुसार बाझिने भएकाले अध्यक्ष र संचालकको कार्यकाल हटाइएको हो ।’ एकिकृत निर्देशिकाले गरेको ब्यवस्था अनुसार अब बैंक वित्तीय संस्थामा कुनै पनि ब्यक्ति जति पटक पनि अध्यक्ष वा संचालक हुन पाउने भएका छन् ।

यसैरगरी एउटा बैंकको प्रमुख कार्यकारी कुनै अर्को ब्यवसायिक संस्थामा कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी, वा अन्य कुनै पदमा रही काम गर्न नपाउने ब्यवस्था गरेको छ । तर, यस अघि एउटा बैंकको प्रमुख कार्यकारी अर्को सोही प्रकृतिको संस्थामा कुनै पदमा बस्न नपाउने ब्यवस्था रहेकोमा अबका दिनमा कुनै पनि ब्यवसायिक संस्थामा बस्न पाउने छैनन् । कुनै अर्को बैंकमा बस्न नपाउने ब्यवस्था रहेकोमा एकिकृत निर्देशिका पश्चात कुनै पनि ब्यवसायीक संस्थामा बस्न पाउने छैनन् । तर, कुनै पनि बैंक वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पूर्वाधार विकास बैंकको संचालकमा भने बस्न पाउने ब्यवस्था गरेको छ ।

यसैगरी राष्ट्र बैंकले ख र ग बर्गका वित्तीय संस्थालाई जग्गा विकास, आवासिय परियोजनाका लागि जग्गा खरिद, घर निर्माण तथा परियोजना संचालनमा लगाएको सीमालाई पनि हटाएको छ । यसैगरी निर्देशिकाले वाच लिष्टलाई पनि केही कडाइ गरेको छ । जस अनुसार राष्ट्र बैंकले निरीक्षण गर्दा ऋणीको नगद प्रबाह तथा परियोजन संचालनको अबस्था कमजोर भएको आधारमा सुक्ष्म निरीक्षणमा राख्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ लाई बाफिया अनुरुप परिमार्जन गर्दै जारी गरेको छ । बैंकले यस अघि भएका सबै ब्यवस्थालाई बाफिया अनुरुप संसोधन गर्दै जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL