Logo

चुक्ता पूँजी बृद्धिको समय बढाउन राष्ट्र बैंकमा गृहकार्य, यस्ता छन् मापदण्ड !

चुक्ता पूँजी बृद्धिको समय बढाउन राष्ट्र बैंकमा गृहकार्य, यस्ता छन् मापदण्ड !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी बृद्धिको समय थप गर्ने सम्बन्धमा गृहकार्य शुरु गरेको छ । २०७४ असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक वित्तीय संस्थालाई कसरी समय थप गर्ने भन्ने विषयमा आन्तरित रुपमा छलफल भइरहेको नेपाल राष्ट्र बैंकको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

राष्ट्र बैंकले २०७४ असार भित्र बाणिज्य बैंकको ८ अर्ब रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

तर, कतिपय बैंक वित्तीय संस्थाले सो अवधिसम्म चुक्ता पूँजी नपुर्याउने र समय थप गर्न आग्रह गरेकाले सो विषयमा छलफल भइरहेको उनले जानकारी दिए । ‘समय कति थप गर्ने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन,’ उनले भने, ‘तर, बैंक तथा वित्तीय संस्थाले पेश गरेको पूँजी बृद्धि योजना अनुरुप हेरेर समय थप गरिनेछ ।’

उनका अनुसार चुक्ता पूँजी बृद्धिका लागि मर्ज तथा एक्विजिशन गरिसकेका संस्था, पूँजी बृद्धि गर्न हकप्रदका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका वा सो निकायबाट सवीकृति प्राप्त गरेका तथा बोनस सेयर घोषणा गरेका संस्थाहरुको हकमा मात्र समय थप गर्न सकिने छ ।

यदि कुनै संस्थाले कुनै ठोस योजना नै नबनाई थप मात्र थप गर्न खोजेमा त्यस्ता संस्थाहरुको हकमा भने लागू नहुने उनले जानकारी दिए । ‘राष्ट्र बैंकले ठोस योजना बनाएर कार्यान्वयनको चरणमा रहेका संस्थालाई मात्र समयसिमा थप गर्न लागेको हो,’ उनले भने, ‘यदि कुनै संस्था ठोस योजना नबनाई समय थपको लागि मात्र आउछ भने त्यसलाई कारबाही हुने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL